
लमजुङमा पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । फूलमाथिको परनिर्भरता हटाउन र आय आर्जन समेत हुने भएकाले लमजुङका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
विगत १⁄२ वर्ष अघि सम्म बाहिरी जिल्लाका फूलहरु फाट्ट फुट्ट आउने गरेपनि यो वर्ष भने बजारी क्षेत्र सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदी लगायतका बजारहरुमा पर्याप्त मात्रामा फूल बिक्रीका लागि राखिएको छ ।
यो वर्ष बेच्न राखिएका प्लास्टिकका फूलका माला बेच्न बन्देज गरी प्रशासन कार्यालयले जफत गरेपछि बजारी क्षेत्रमा सयपत्री फूलको माला पर्याप्त मात्रामा देखियो । घर सजाउनको लागि फुल नै बिक्री हुनाले पनि सयपत्री फुलको कारोबार ह्वात्तै बढेको छ ।
कतिपय पालिकामा तयारी खदा समेत प्रतिवन्ध गरिएको छ । त्यसैले पनि चाडपर्व र सभा सम्मेलनमा सहजै बिक्री हुने र मनग्य आम्दानी लिन सकिने भएकाले लमजुङमा पनि केही किसान व्यावसायिक नगदे फूलखेतीतर्फ आकर्षित भएका हुन् ।

फूलखेतीका लागि उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले यसवर्ष फुल उत्पादन बढेको छ । तिहारको समयमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुने पुष्प व्यवसायीले बताएका छन् ।
लमजुङमा करीब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती गरिएको छ । अधिकांश किसानले तिहार लक्षित फूलखेती गरेका छन् । धेरैले आफ्नो घरमा मात्र पुग्ने गरी खेती गरेका छन् भने केहीले मात्रै विक्री गर्ने उद्देश्यले खेती गरेका छन् ।
सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । तिहारका लागि घरमा फूल लगाउनेहरु घरकै फूल टिपेर घर आँगन सजाउँदै छन् । घरमा फूल नहुनेहरु किनेरै पनि फूलले घर आँगन सजाउन ब्यस्त छन् ।
सयपत्री फूलको मूल्य प्रतिकेजी ३ सय ५० रुपैया तोकिएको छ । उनेको सयपत्रीको माला प्रतिगोटा १ सयमा विक्री भइरहेको छ
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको मस्र्याङ्दी कृषि फार्ममा झण्डै १० रोपनी जग्गामा कर्मा ५५५ जातको हाइब्रीड सयपत्री फूलको खेती गरिएको छ भने राइनास, मध्यनेपाल लगायतका ठाउँहरुमा व्यवसायिक रुपमा फूल खेती गरिएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले लमजुङमा अझै पनि फूलखेती व्यावसायिक बन्न नसकेको र जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यालयले फूलखेतीमा अनुदानको समेत ब्यवस्था गर्दै आएको बताउनुभयो ।











