
लमजुङको सदरमुकाम बेसीशहरमा ३ दिने कार्तिक महात्मा धार्मिक प्रवचन सुरु गरिएको छ । विहिबार बिहान बेसीशहर बजारमा कलश यात्रा गरी कार्यक्रमको सुरु गरिएको हो ।
बेसीशहरको फूलबारी मञ्चमा सुरु भएको धार्मिक कार्यक्रममा ग्रह शान्ति, भगवान् शालिग्रामको पुजा, रुद्री पुजा, हवन लगायतका पुजा गरिने छ । पुजाका साथमा संगितमय कार्तिक महात्मा धार्मिक प्रवचन पनि सुरु गरिएको छ ।
हिन्दु धर्ममा साउन, भदौ, असोज र कार्तिक महिनालाई पुरुषोत्तम महिना भनिने र यो सयममा विषेश पुजाआजा गर्ने गरिन्छ । कार्तिक महिनामा हरीबोधनी एकादशी पर्ने र पुरुषोत्तम महिनाको अन्तिम महिना पनि भएकाले विषेश पुजा तथा प्रवचनको कार्यक्रमको आयोजना गरिएको आयोजक विश्व हिन्दु महासंघ लमजुङका अध्यक्ष शालिग्राम अधिकारीले बताउनुभयो ।

व्यक्तिका घरमा रुद्री, ग्रह शान्ति लगायतका पुजा गर्दा खर्चिलो हुने भन्दै कार्तिक महात्मा लगाइएको सो ठाउँमा आएर आफ्नो आवश्कता अनुसार सबैले पुजा गर्न सक्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।
कार्तिक महात्मा धार्मिक प्रवचन कार्यक्रममा संस्कृतका विद्धान गोर्खाका आचार्य गोविन्द कौशिकले कथा वाचन गर्नुभएको छ ।
यो महिना पवित्र महिना भएको कार्तिक महात्मा धामिर्क प्रवचन सुनेमा तथा पुजाआजा गरेमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।