आज कुशे औंसी/बावुको मुख हेर्ने दिन, मोती जयन्ती

-


     नयाँ दीप    
     भाद्र २८ गते २०८० मा प्रकाशित


हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ । औंसी बाहेकका दिन उखेलिएको कुश भने त्यसदिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ ।

कुशे औंसी नेपाली जीनशैलीमा धेरैनै महत्व बोकेको चाड हो । आज एकातर्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । यसै चटारोका बिचमा आजको दिन नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्ट को जन्मजयन्ति पनि हो ।
कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशै औंसीका दिन काठमाडौको भोसिको टोलमा उनको जन्म भएको थियो ।

नेपाली साहित्यिक भिडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतीहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानकासाथ गरिरहन्छन् ।

नेपाली भाषामा गजलको प्रारम्भ यीनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । आज विविध कार्यक्र गरी देशैभर मोती जयन्ती मनाइदै छ ।