
२०६२ देखि ०६४ साल सम्म लमजुङ जिल्लाको बेसीशहरमा रहको सेर्सोक नामक गैरसरकारी संस्थामा काम गर्ने जिम्मेवारी लिएपछि म गमप्रसाद गुरुङसँग अलि नजिक हुन पाए । उहाँ त्यस संस्थाको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । संस्थामा रहँदा उहाँले खेलेको भूमिकाका कारण म आज पनि उहाँलाई सम्झिरहन्छु। उहाँको पहिचान गर्ने सम्झने गतिविधिहरू यस्ता छन् ।
पश्चिम लमजुङका बस्तीहरूमा महिला, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायको सहभागिता बढाउँदै नेतृत्व, व्यवस्थापन र निर्णय क्षमता विकासका लागि स्वावलम्बी समूह गठन गर्ने क्रममा संगै हिंडदा उहाँलाई सामाजिक सहजकर्ताको रूपमा चिनेको थिए ।
त्यस्तै, पश्चिम लमजुङका बस्तीहरूमा सहकारीमार्फत बचत–ऋण अभ्यास गरी वित्तीय संस्थासँग पहुँच विस्तार गर्ने अभियन्ताका रूपमा पनि उहाँलाई चिनेको थिए । उल्लेखित बस्तीहरूमा जीविकोपार्जन सुधारका लागि सीपमूलक तालिम, उद्यम विकास तथा रोजगारीका अवसर सिर्जना गर्ने अभियानमा उहाँ सामाजिक विकासका लागि चेतना फैलाउने, आवाज उठाउने र सकारात्मक परिवर्तन ल्याउन सक्रिय रूपमा काम गर्ने व्यक्तिका रूपमा उहाँलाई चिनेको थिए ।
त्यतिबेला पश्चिम लमजुङका विकट बस्तीहरूमा काम गर्नु निकै चुनौतीपूर्ण थियो। विभिन्न व्यवधान र कठिनाइहरूका कारण उहाँले कार्यरत कर्मचारीहरूको मनोबल बढाउन पनि पर्याप्त समय खर्चिनुपर्ने अवस्था थियो। संस्थाका हरेक छलफलमा उहाँले अरूभन्दा अलि फरक दृष्टिकोण प्रस्तुत गर्नुहुन्थ्यो र बैठकले गरेका निर्णयहरू तत्काल कार्यान्वयनमा लैजानुहुन्थ्यो ।
समयको सदुपयोग गर्ने, गर्नुपर्ने काम र भन्नुपर्ने कुरा ढिला नगरी तुरुन्तै गर्ने, नजानेको कुरा सिक्न तत्पर रहनेजस्ता, समुदाय लक्षित काममा पहिलो प्राथिमिकता हुनु पर्ने उहाँका सकारात्मक पक्षहरूलाई नजिकबाट हेर्ने, बुझ्ने र सिक्ने अवसर मैले पाएँ। त्यस समयमा उहाँको गाउँमा आफु आत्मनिर्भर हुने उद्देश्यसहित व्यवसाय सञ्चालन भइसकेको थियो । गाउँमै सञ्चालन गर्न खोजिएको व्यवसायको प्रस्ताव सुन्दा मलाई निकै अचम्म लागेको थियो । सुनेको छु हाल उहाको ब्यबसाय सफल छ । त्यसैले हाम्रो समाज, परिवार र परिवेशमा स्थानीय व्यवसाय सञ्चालन गर्न उत्प्रेरणा जगाउने विषयमा उहाँबाट धेरै कुरा सिक्न सकिने अनुभूति गरेको छु ।
त्यो विकट ठाउँमा जन्मेर हुर्कनु भएका गमप्रसाद गुरुङको सहनशीलता, विकासप्रतिको दृष्टिकोण, जोस, जाँगर, लगनशीलता देख्दा उहाँ सामान्य व्यक्ति हुन् कि असामान्य भन्ने प्रश्नले कहिलेकाहीँ सोच्न बाध्य बनाउँथ्यो । हरित सडक र पश्चिम लामजुंग बिधुत बिस्तारमा सहभागिता र सक्रिता देख्दा कहिलेकाहीँ वास्तविक बिकास मोडेल व्यक्ति हुन् कि घरेलु उधोगका सामाजिक अभियन्ता, घरेलु उद्योगका नमुना पात्र, राजनीतिज्ञ, पत्रकार वा समाजसेवी—भन्ने अन्योलमा पर्थे । उहाँसँग बसेर विकाससम्बन्धी मुद्दामा गरिने कुराकानी सुन्दा लमजुङको वास्तविकता बुझेका सामाजिक विकासका अभियन्ता नै हुनुहुन्छ भन्ने अनुभूति हुन्थ्यो ।
कुनै पनि काममा तुरुन्तै सक्रिय देख्दा उहाँ उद्यमी नै बढी हुन् कि जस्तो लाग्थ्यो। सार्वजनिक समारोहमा उहाँको बोली सुन्दा राजनीतिज्ञ जस्तो पनि अनुभूति हुन्थ्यो । त्यस समय गैरसरकारी संस्थाको नेतृत्वदायी भूमिकासँगै जिल्ला विकास समितिको इलाका सदस्य, देख्दा संस्था\सरकारी नीति र योजना बुजेको ।
रेडियोको संचालक, पार्टीसँगको आबद्धता देख्दा उहाँ लमजुङको सामाजिक परिवेश बुझेका एक सचेत आधुनिक सोचयुक्त, समाजिक नेतृत्वकर्ता हुनुहुन्छ भन्ने महसुस हुन्थ्यो। आज पनि गमप्रसाद गुरुङसँग भएका छलफल र अनुभवहरूलाई सम्झँदै उहाँ आधुनिक सोचयुक्त, नेतृत्वकर्ता, लमजुङ बुझ्ने एक विवेकी व्यक्तित्वका रूपमा स्मरण गर्ने गर्छु । धन्यबाद ।









