टेलिमेडिसिन सेवाबाट क्होलासोथरमा सफल सुत्केरी

-


     सृजना बराल    
     जेठ ८ गते २०८३ मा प्रकाशित


एआइ बाट तयार फोटो

प्रदेश अस्पताल बेसीसहर, लमजुङले सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । शुक्रबार क्होलासोथर गाउँपालिकास्थित एक गर्भवती महिलाको सफल सुत्केरी गराउन अस्पताल सफल भएको हो ।

बिहीबार बेलुकादेखि नै सुत्केरी व्यथा लागेकी ती महिलाको लामो समयसम्म सुत्केरी हुन नसकेपछि स्थानीय स्वास्थ्यकर्मीले प्रदेश अस्पताल बेंसीसहरमा सम्पर्क गरेका थिए । शुक्रबार बिहान ड्युटी सकेर खाना खाँदै गरेकी स्त्रीरोग विशेषज्ञ डा. सचिता चापागाईलाई स्वास्थ्यकर्मीले भिडियोमार्फत अवस्थाबारे जानकारी गराएका थिए ।

त्यसपछि डा. चापागाईले टेलिमेडिसिनमार्फत आवश्यक निर्देशन दिँदै स्थानीय स्वास्थ्यकर्मीलाई सुत्केरी गराउन सहजीकरण गर्नुभएको थियो। चिकित्सकको निर्देशनअनुसार प्रक्रिया अघि बढाउँदा आमा र शिशु दुवै सुरक्षित रूपमा सफल सुत्केरी गराउन सकिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार समयमै उचित परामर्श र निर्देशन नपाएको भए आमा र शिशुको ज्यान जोखिममा पर्न सक्ने अवस्था थियो । टेलिमेडिसिन सेवाको प्रभावकारी प्रयोगले ग्रामीण क्षेत्रमा पनि विशेषज्ञ सेवा उपलब्ध गराउन सहज भएको अस्पतालको भनाइ छ ।

रिफर गरेर पठाउँदा पनि ३⁄४ घण्टाको समय लाग्ने र गर्भवतीको अवस्था पनि नाजुक बन्दै गएपछि त्यहाँका स्वास्थ्यकर्मीले प्रदेश अस्पतालका मेसु डा. शिशिर देवकोटालाई फोन गरी सहजिकरणका लागि भनेका थिए ।

प्रादेशिक अस्पताल बेंसीसहरले गतवर्षबाट टेलिमेडिसिन सेवा सुरु गरेको हो । यस सेवामार्फत लमजुङका दुर्गम गाउँपालिका तथा स्वास्थ्य संस्थामा रहेका बिरामीलाई विशेषज्ञ चिकित्सकसँग जोड्ने काम भइरहेको छ । प्रदेश अस्पतालबाट टेलिमेडिसिन सुरु गरेको एक वर्षमा जिल्ला भित्र र बाहिर हिमामी जिल्ला मनाङ देखि १ हजार जना भन्दा धेरैले सेवा लिएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका डा. देवकोटाका अनुसार टेलिमेडिसिन सेवाले विशेषगरी ग्रामीण भेगका नागरिकलाई ठूलो राहत पुगेको छ । दुर्गम क्षेत्रमा रहेका बिरामीले विशेषज्ञ चिकित्सकसँग सहज रूपमा परामर्श लिन पाउने, समयमै उपचार सेवा प्राप्त हुने तथा आकस्मिक अवस्थामा छिटो निर्णय लिन सकिने भएकाले यस सेवाप्रति नागरिकको विश्वास बढ्दै गएको छ । साथै अनावश्यक रूपमा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था घट्नुका साथै उपचार खर्च र समयसमेत बचत भएको अस्पतालले जनाएको छ ।