
काठमाडौँ — चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार शनिबार चीनको हाङचाउमा उनीहरूबीच औपचारिक भेटवार्ता भएको जानकारी दिएको छ ।
हाङचाउ सहरमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार अमेरिकाको न्युयोर्कबाट चीन पुगेका हुन् ।
शनिबार चीनको हाङचउ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए । तेस्रोपटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो चीन भ्रमण हो ।