
लमजुङको बेसीशहर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा वा अन्य भौतिक संरचनाहरू ३५ दिनभित्र आफैं हटाउन निर्देशन दिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ ले दिएको अधिकार र नेपाल सरकारको शासकीय सुधारको १०० बुँदे कार्यसूचीको बुँदा ९२ को कार्यान्वयनका लागि यो कदम चालिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाद्वारा प्रकाशित सूचना अनुसार नगर क्षेत्रभित्रका बाटो, कुलो, पोखरी, मसानघाट, गौचरन लगायतका सरकारी तथा सार्वजनिक जग्गाहरू अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य कुनै भौतिक संरचना निर्माण गरेको वा भोगचलन गरेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र त्यस्ता संरचनाहरू आफैं हटाई जग्गा खाली गरिदिनुपर्नेछ।
तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिका आफैंले प्रचलित कानुन बमोजिम त्यस्ता संरचनाहरू हटाउने र सो कार्यमा लागेको सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरी कानुनी कारबाही अगाडि बढाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहराले जानकारी दिनुभयो।
सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सम्पूर्ण नगरवासीहरूको साझा दायित्व भएको भन्दै नगरपालिकाले यस अभियानमा सहयोग गर्न विशेष अनुरोध समेत गरेको छ। नगर क्षेत्रभित्र कतै सरकारी वा सार्वजनिक जग्गा मिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको जानकारी भएमा सोको विवरण वा सूचना (सकेसम्म प्रमाण वा कागजात सहित) नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा बुझाउन अपिल गरिएको छ। यसरी अतिक्रमणको सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिने र ’हामी सबैको रहर, सभ्य र समृद्ध बेसीशहर’ बनाउने अभियानमा साथ दिन नगरपालिकाले सम्पूर्ण नगरवासीहरूलाई आग्रह गरेको छ।











