
लमजुङको मध्यनेपाल नगरपालिका–८, करापुटारमा रैथाने तथा स्थानीय कृषि उपजको प्रवद्र्धन गर्ने उद्देश्यले ‘मध्यनेपाल रैथाने हाटबजार’ आयोजना गरिएको छ।
“प्रत्येक किसानको रैथाने तथा स्थानीय कृषि उपजको प्रवद्र्धन गरौं” भन्ने नारासहित आयोजना गरिएको हाटबजार २०८३ साल जेठ ६ गते देखि सञ्चालन गरिएको हो। हाटबजार दुईपिप्लेमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।
हाटबजारको उद्घाटन मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले स्थानीय उत्पादनको संरक्षण र बजारीकरणमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवद्र्धनले किसानको आयआर्जन वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्र सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो।
तनहुँ र लमजुङको सिमानामा आयोजना गरिएको हाटबजारमा तनहुँका किसानहरुले समेत आफ्नो उत्पादन ल्याएर बेच्न सक्ने भन्दै प्रत्येक किसानलाई प्रत्येक केजीमा ३ रुपैँया र यातायात खर्चमा ५० प्रतिशत अनुदान नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख पाण्डेले बताउनुभयो ।
हाटबजारमा स्थानीय किसान तथा उद्यमीहरूले उत्पादन गरेका विभिन्न रैथाने बाली, कृषि उपज, घरेलु परिकार तथा स्थानीय वस्तुहरूको प्रदर्शन तथा बिक्री–वितरण गरिनेछ। जङ्गली निउरो, रिठ्ठा, कागुनो, तिल, रुख कटर, कर्कलो लगायतका स्थानीय तथा रैथाने सामग्रीहरू बिक्रीका लागि राखिने आयोजकले जनाएको छ।
यस प्रकारका हाटबजारले स्थानीय उत्पादनलाई उचित बजार उपलब्ध गराउनुका साथै किसान तथा स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। कार्यक्रममा विभिन्न संघसंस्था तथा सरोकारवालाको समेत सहभागिता रहेको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमले रैथाने बाली संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन तथा ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










