प्रदेश अस्पताल लमजुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू

-


     सृजना बराल     
     जेठ ७ गते २०८३ मा प्रकाशित


गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश अस्पताल लमजुङमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इ एम आर ) प्रणाली कार्यान्वयनमा आएको छ । महामारी कोष परियोजना अन्तर्गत विश्व स्वास्थ्य संगठन को प्राविधिक तथा आर्थिक सहयोगमा उक्त प्रणाली सुरु गरिएको हो ।

प्रदेश अस्पताल लमजुङ गण्डकी प्रदेश अन्तर्गत प्रणाली लागू गर्ने सातौं अस्पताल बनेको छ । अस्पतालमा डिजिटल प्रणाली लागू भएसँगै अब बिरामीहरूले ल्याब रिपोर्ट, एक्स–रे तथा अन्य चिकित्सकीय रेकर्ड कागजमा बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य भएको अस्पतालले जनाएको छ । इ.एम.आर प्रणालीमार्फत बिरामीको सम्पूर्ण स्वास्थ्य विवरण डिजिटल रूपमा सुरक्षित रहने र आवश्यक पर्दा सहज रूपमा प्राप्त गर्न सकिनेछ ।

अस्पताल प्रणालीलाई डिजिटल बनाउँदा तथ्यांकको गुणस्तर सुदृढ हुने, स्वास्थ्य सेवाको दक्षता बढ्ने, पारदर्शिता कायम हुने तथा नियमित कार्य सञ्चालन, निगरानी र स्वास्थ्य आपतकालीन अवस्थाका बेला छिटो तथा प्रमाणमा आधारित निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

दैनिक ४ देखि ५ सय सम्म सेवाग्राहीको उपस्थिती रहने यस प्रदेश अस्पताल लमजुङमा आर्थिक वर्ष २०८२\०८३ को श्रावण देखि चैत्र महिनासम्म करिब ८८ हजार भन्दा बढीले सेवा लिएको अस्पतालका मेसु डा. शिशिर देवकोटाले बताउनुभयो ।