
गण्डकी प्रदेश सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुराना सबै मन्त्रीलाई बिदा दिँदै नयाँ टिम गठन गरेका हुन्।
सत्ता साझेदारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सुरुमा आलोपालो नेतृत्वको सहमति भए पनि अहिलेको अवस्थाले कांग्रेसले नै सरकारको नेतृत्व निरन्तर गर्ने संकेत दिएको छ।
नयाँ मन्त्रीमण्डलमा दुवै दलबाट समान चार–चार जना मन्त्री समावेश छन्। कांग्रेसतर्फ जीत शेरचन अर्थ, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन्।
त्यसैगरी एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आएका छन्।
बराबरीको प्रतिनिधित्वमार्फत गठबन्धन सन्तुलन कायम राख्ने प्रयास देखिए पनि यसले निर्णय प्रक्रियामा सहमति जुटाउन थप चुनौती निम्त्याउने आँकलन गरिएको छ। सहकार्य मजबुत भए स्थायित्व सम्भव भए पनि मतभेद बढेमा नीतिगत कामकारबाही सुस्त हुने जोखिम पनि रहेको छ।
यो कदमलाई सामान्य फेरबदलभन्दा फरक, कार्यक्षमता अभिवृद्धि र शक्ति सन्तुलन मिलाउने रणनीतिक निर्णयका रूपमा लिइएको छ।









