मिप्रामा ’भिर मौरी मह सिकार उत्सवमा रमाए पर्यटक

-


     सृजना बराल     
     वैशाख २७ गते २०८३ मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा साहसिक पर्यटन र परम्परागत संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले ’भिर मौरी मह सिकार उत्सव २०८३’ को आयोजना गरिएको छ। मस्र्याङ्दी गाउँपालिकामा हरेक वर्ष नियमित रूपमा आयोजना गरिने यो मह सिकार यहाँको वार्षिक तालिकाकै एउटा अभिन्न हिस्सा र गुरुङ समुदायको ऐतिहासिक एवं गौरवशाली पहिचान हो।

सदियौँदेखि चलिआएको यो परम्परागत कला केवल जीविकोपार्जनको माध्यम मात्र नभई गुरुङ गाउँहरूको वीरता र पुख्र्यौली सीपको प्रतीक समेत मानिन्छ। विशेषगरी गुरुङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा मह काड्नुअघि प्रकृति र देवदेवीको पूजा गर्ने प्रचलन रहेकाले यसको सांस्कृतिक र धार्मिक महत्व उत्तिकै छ।

मिप्राका अग्ला र डरलाग्दा भिरहरूमा डोरीको भ¥याङको सहयोगमा ज्यानको बाजी थापेर गरिने यो साहसिक मह सिकारले यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभएकोे छ । भिरमा झुण्डिएर परम्परागत शैलीमा मह काडिएको प्रत्यक्ष दृश्य हेर्न पाउँदा पर्यटकहरूले निकै रोमाञ्चक र साहसिक अनुभव गरिरहेका छन्।

यस्ता चुनौतीपूर्ण र आकर्षक गतिविधिले गर्दा मस्र्याङ्दी क्षेत्र बिस्तारै ’एडभेन्चर टुरिजम’ को केन्द्र बन्दै गएको छ। नियमित रूपमा आयोजना हुने यस्ता उत्सवले पुख्र्यौली सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र गाउँको आर्थिक विकास एवं ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुराउन महत्वपूर्ण योगदान पु¥याएको गाउँपालिकाका युवा प्रदिप गुरुङले बताउनुभयो । यसरी काढिने भिर मौरीको मह देश तथा विदेशमा राम्रो खपत हुने गरेको छ ।