
नेपाल प्रहरी को केन्द्रीय निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय लमजुङले मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा बुधबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा तथा इलाका प्रहरी कार्यालय भोर्लेटार र मध्यनेपाल नगरपालिका को सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सिता गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद बास्तोला, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, विभिन्न वडाध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
नागरिकहरूले उठाएका गुनासा तथा सुझावलाई प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत ले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख एवं प्रहरी निरीक्षक धुर्व प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक आकाश तामाङले गर्नुभएको थियो।
नेपाल प्रहरीको वार्षिक कार्ययोजना अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले वर्षमा चार पटक नागरिक सुनुवाई कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ। यसअघि भोटेओडार, राइनासको तीनपिप्ले तथा बेसीशहरको मकैडाँडामा समेत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भइसकेको प्रहरीले जनाएको छ।










