
लमजुङका अलैंची किसानले अलैंची बेचेर जिल्लामा करोडौं रुपैँया भित्राएका छन् । यो वर्षको अलैंची बेचेर किसानहरुले २४ करोड रुपैँया कमाउन सफल भएका हुन् । जिल्लाभर १ लाख ९ हजार ९० केजी अलैंची उत्पादन भएको थियो ।
जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची भदौ असोजमा टिप्ने गरिन्छ । जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको वडा नं ७ छिनखोला, वडा नं ५ बाहुनडाँडा, सन्जापु, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडा अलैंचीका मुख्य पकेट क्षेत्र हुन् । जिल्लामा डम्बरशाही, जिर्मले र साउने जातको अलैंची खेती गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए।
गतवर्ष लमजुङ जिल्लामा १ सय ५० टन अलैंची उत्पादन भएको र सो विक्रीबाट करिव १७ करोड रुपैँया आम्दानी भएको अलैंची जोन केन्द्र लमजुङले जनाएको छ । सिजनका बेला अलैंची २ हजार देखि २२ सय रुपैँया प्रति केजी सम्म विक्री हुने गरेको छ ।
लमजुङमा ७ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार गरिएको छ । जिल्लामा १५ हजार भन्दा बढी कृषकले व्यवसायीक अलैंची खेती गर्दै आएका छन्। पछिल्लो समय लमजुङ अलैँची हबका रूपमा समेत परिचित हुँदै गएको छ। लमजुङको अलैंची गुणस्तरीय हुने भएकाले जिल्ला बाहिरका अलैंची कृषकसहित भुटानका अलैंची व्यापारीसमेत अलैंची हेर्न लमजुङ आउने गर्दछन् । अलैंची खेती बिस्तार भएसँगै गाउँगाउँमा अलैंची खेती हेर्नकै लागि आन्तरिक पर्यटक पुग्ने गरेको अलैंची किसानहरु बताउँछन् ।










