
सन्देश र रमेश बाल्यकालदेखि गहिरा साथी थिए। तर समयसँगै उनीहरूको सोचाइ फरक हुँदै गयो। रमेश प्रकृतिप्रेमी थियो, उसलाई बन, जंगल, रुख बिरुवासँग निकै माया थियो। सन्देशलाई भने बन फाँडेर काठ बेच्न र पैसा कमाउन मात्र चासो थियो।
एक दिन रमेशले भन्यो, “अबदेखि हरेक जन्मदिनमा उपहार किन्ने होइन, एउटा रुख रोप्ने परम्परा बसाल्नुपर्छ। जन्मदिनको सही अर्थ भनेको प्रकृतिलाई केही दिनु हो, लिने होइन।”
तर सन्देश हाँस्यो, “रुख रोपेर के फाइदा? म त पैसा कमाएर रमाउँछु।” उसले बन फाँड्न थाल्यो, दिनदिनै काठ बेच्दै गयो। रमेशले सम्झायो, “छोटो समयको लोभले ठूलो विनाश निम्त्याउँछ ” तर सन्देश सुन्न तयार थिएन।
समय बित्दै गयो। बन फाँडिएका ठाउँमा बाढी आउन थाल्यो, पानीको स्रोत सुक्न थाल्यो, गर्मी असह्य भयो। खेतबारी बाझो हुन थाले, खोला सुक्दै गयो। गाउँमा पानीको अभाव हुन थाल्यो, हावा प्रदूषित भयो।
एक दिन, सन्देशको घर अगाडि आएको पहिरोले उसको बगैंचै बगायो। उसले रमेशलाई सम्झियो र पछुतायो। त्यो वर्ष रमेशको जन्मदिनमा सन्देश पहिलो पटक वृक्षारोपण गर्न आयो।
उसले भनी, “मैले बन फाँडेर गल्ती गरें, तर अब प्रत्येक जन्मदिनमा म रुख रोप्नेछु। किनकि जन्मदिन आफैंमा पुनर्जन्म जस्तै हो, अनि रुख रोप्नु भनेको अर्को जीवन दिनु हो।”
त्यस दिनदेखि रमेश र सन्देश मिलेर गाउँभरि वृक्षारोपण अभियान सुरु गरे। अब गाउँमा हरेक जन्मदिन वृक्षारोपण गरेर मनाइने परम्परा बस्यो। केही वर्षपछि गाउँ फेरि हराभरि भयो, पानीका स्रोत बग्न थाले, खेतबारी हरियाली भए।
“जन्मदिनमा बत्ती निभाउने होइन, रुख रोप्ने परम्परा बसालौं। प्रकृतिलाई बचाउनु भनेको जीवनलाई बचाउनु हो।“