
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले कालोबजारी, ठगी, जुवातास र शान्ति सुरक्षामा असर पार्ने गतिविधि नगर्न जिल्लावासीलाई आग्रह गरेको छ।
कार्यालयले सूचना जारी गर्दै चाडपर्वका समयमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। प्रशासनले सामाजिक सद्भाव कायम राख्दै सुरक्षित र शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको छ।
प्रशासनका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने, वस्तु तथा सेवाको मूल्य बढाउने, म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने, उपभोग्य वस्तुमा मिसावट गर्ने तथा तोकिएको भन्दा बढी भाडा असुल्ने कार्य गैरकानुनी हुन्। यस्ता गतिविधि नगर्न व्यवसायी तथा सेवाप्रदायकलाई आग्रह गरिएको छ।
त्यसैगरी मादक पदार्थ तथा लागूऔषध सेवन गरी होहल्ला गर्ने, आतिसबाजी तथा पटका पड्काउने, जुवातास खेल्ने, खेलाउने, चोरी, ठगी, डकैती र लुटपाट गर्ने तथा ओसारपसार र बेचबिखनजस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन प्रशासनले सचेत गराएको छ।
कानुनविपरीतका गतिविधि गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। त्यस्ता गतिविधि देखेमा वा जानकारी पाएमा नजिकैको प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी सूचनामा चाडपर्वलाई सभ्य, सुरक्षित र मर्यादित बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख छ। प्रशासनले वडा दसैँ २०८३ का अवसरमा जिल्लावासीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामनासमेत गरेको छ।










