
लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९ स्थित खुदी बजारको पुल वारी क्षेत्रलाई नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी “साम्बा” को सम्मानमा ’साम्बा चोक’ नामकरण गरिएको छ ।
सोमबार एक कार्यक्रम बिच सावित्राको फोटो सहितको होल्डिङ बोर्ड राखेर ‘साम्बा चोक’ उद्घाटन गरिएको हो । मस्र्याङ्दी गाउँ पालिकाका अध्यक्ष अर्जुन गुरुङले साम्बा चोकको उद्घाटन गर्नुभएको हो ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न चोक उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, उपाध्यक्ष जुनामाया थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बोहोरा, सशस्त्र प्रहरी आश्रित गुल्मका डिएसपी दीपक पुरी, अनुसन्धान प्रमुख विष्णुहरि पण्डित लगायत उपस्थिति रहेको थियो।
कार्यक्रममा खेलाडी सावित्रा भण्डारी (साम्बा) का बुबा बम बहादुर भण्डारी र आमा मुना भण्डारीको उपस्थिती रहेको थियो । आफ्नो छोरीको नाममा चोकको नामकरण गरिनुले अत्यन्तै खुशी लागेको उनका बाबुआमाले बताएका छन् ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्।
सन् २०१४ देखि सशस्त्र प्रहरी बल क्लबबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेकी साम्बाले हाल फ्रान्सेली लिग एन क्लब ’अभान्ट ग्वेङगाम्प’ बाट व्यवसायिक फुटबल खेलिरहेकी छिन्। उनले ५३ अन्तर्राष्ट्रिय खेलमा ५७ गोल गर्दै नेपाली महिला फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम गरेकी छिन्।
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ’साम्बा चोक’ नामाकरण गर्दा स्थानीयवासीले गर्व महसुस गरेका छन्। साम्बा चोक उद्घाटन कार्यक्रम मस्र्याङदी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष हरिश्चन्द्र थापाको अध्यक्षतामा भएको थियो ।









