
लमजुङ । चाडपर्वलाई लक्षित गर्दै लमजुङको बेसीशहर नगरपालिका–८ क्याम्पसरोड क्षेत्रमा बजार अनुगमन गरिएको छ। बुधबार गरिएको अनुगमनका क्रममा १८ वटा व्यवसायको निरीक्षण गरिएको हो।
अनुगमन गरिएका व्यवसायमा १३ वटा किराना पसल, एक होटल, एक फलफूल पसल तथा तीन वटा खाजा तथा चटपटे पसल रहेका छन्। दर्ताबिना सञ्चालनमा रहेका तीन खाजा तथा चटपटे पसललाई सात दिनभित्र सम्बन्धित निकायमा व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ।
अनुगमन टोलीले पसलमा मूल्यसूची राखिएको अवस्था, म्याद गुज्रिएका सामग्रीको बिक्री, खाद्यवस्तुको गुणस्तर, सरसफाइ तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। व्यवसायीलाई खाद्य सुरक्षा र उपभोक्ता अधिकारका विषयमा आवश्यक सुझावसमेत दिइएको जनाइएको छ।
आर्थिक वर्ष २०८३र८४ मा जिल्लाभर गरिएको यो नवौं पटकको बजार अनुगमन हो भने चाडपर्व लक्षित दोस्रो अनुगमन हो।
अनुगमनमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, उद्योग वाणिज्य संघका प्रतिनिधि यज्ञनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य जनक श्रेष्ठ, उपभोक्ता हित मञ्चका प्रतिनिधि रामराज खनियाँ र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दिननाथ अधिकारी सहभागी थिए।
चाडपर्वका समयमा हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव तथा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने बताइएको छ।









