पाँच वर्षदेखि अलपत्र लमजुङ दरबार पुनर्निर्माण, प्लास्टिकको छाप्रोमा कालिका मूर्ति

-


     भरत बाबु घिमिरे     
     असाेज ३० गते २०८३ मा प्रकाशित


लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँशहरमा रहेको ऐतिहासिक लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माण कार्य पाँच वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। बजेट अभाव र निर्माणमा भएको ढिलाइका कारण दरबार तथा मन्दिरको काम अलपत्र पर्दा स्थानीय चिन्तित बनेका छन्।

लमजुङ दरबार र कालिका मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सम्पदा हुन्। तर, पुनर्निर्माणले पूर्णता नपाउँदा कालिका मन्दिरमा रहेका मूर्तिलाई पाँच वर्षदेखि प्लास्टिकको छाप्रो बनाएर राख्नुपर्ने अवस्था छ। यही छाप्रोमा मूर्ति राखेर पूजाआजा हुँदै आएको छ।

विशेषगरी वडा दसैँ र चैते दसैँमा गाउँशहरस्थित कालिका मन्दिरमा ठूलो मेला लाग्ने, पञ्चबली दिने तथा विशेष पूजाआजा गर्ने परम्परा छ। तर, मन्दिरको पुनर्निर्माण सम्पन्न नहुँदा यस वर्षको वडा दसैँमा समेत व्यवस्थित रूपमा पूजाआजा गर्न कठिनाइ भएको स्थानीयको गुनासो छ। धार्मिक आस्थासँग जोडिएको मन्दिरमा पाँच वर्षसम्म पनि सहज रूपमा पूजाआजा गर्न नपाउनु दुःखद भएको उनीहरू बताउँछन्।

कालिका मन्दिरका मुल पुरोहित सोमराजका अनुसार सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा पुनर्निर्माणले गति लिन सकेको छैन। यो वर्ष जम्मा ५२ लाख रुपैया परेको भनिएको र सो रकमबाट पनि दरबारको निर्माण कार्य सम्पन्न नहुने बरालको भनाई छ ।

छाना नछाउँदा काठ कुहिने जोखिम

पुरानै शैली र स्वरूपमा पुनर्निर्माण भइरहेको दरबारको छाना छाउनेलगायतका महत्त्वपूर्ण काम अझै बाँकी छन्। छाना नछाउँदा वर्षाको पानी र घामले भवनमा प्रयोग गरिएका काठ तथा अन्य निर्माण सामग्री बिग्रिने अवस्थामा पुगेको स्थानीयको चिन्ता छ।

वर्षौँ लगाएर पुनर्निर्माण भइरहेको संरचना सम्पन्न नहुँदै निर्माण सामग्री कुहिने र जीर्ण बन्ने अवस्था आएमा थप क्षति हुने उनीहरूको भनाइ छ। अहिलेको अवस्थामा काम अघि नबढे पुनर्निर्माण सम्पन्न हुने बेलासम्म कतिपय संरचना फेरि जीर्ण बन्न सक्ने जोखिम रहेको स्थानीयले पुजारी हरी बहादुर रानाले बताएका छन्।

छाना छाउने काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने निश्चित नभएकाले पनि स्थानीय अन्योलमा छन्। सम्भव भएसम्म चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने अपेक्षा उनीहरूले गरेका छन्। पुरातत्त्व विभागको जिम्मेवारीमा रहेको पुनर्निर्माण कार्यलाई तीव्रता दिई यथाशीघ्र सम्पन्न गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।

मन्दिरको पुनः निर्माण सुरु भएपछि कालिकाको मूर्ति ५ बर्षदेखि प्यास्टिकको छाप्रो मुनी नै पुजा गरिदै आएको छ

७० प्रतिशत काम सम्पन्न, बजेट अपुग

सोह्रौँ शताब्दीमा निर्माण भएको मानिने लमजुङ दरबार जीर्ण बनेपछि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको हो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि बजेट अभावका कारण काम लम्बिएको छ।

पुरातत्त्व विभागका अनुसार दरबार पुनर्निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। यस वर्ष पुनर्निर्माणका लागि जम्मा ५२ लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ। यति रकमले छाना मात्रै पनि छाउन नपुग्ने मुल पुरोहित सोमराज बरालले बताउनुभयो । भित्रको निर्माणको काम पुरै बाँकी रहेको र छाना पनि छाउने काम बाँकी रहेको हुँदा सबै सम्पन्न गर्न अझै धेरै ठूलो रकम लाग्ने हुँदा यो वर्ष पनि निमार्ण सम्पन्न नहुन संकेत देखिएको भन्दै स्थानीय चिन्तित बनेका छन् ।

दरबारलाई बुइँगलसहित तीनतले र कालिका मन्दिरलाई प्यागोडा अर्थात् छाने शैलीमा पुरानै स्वरूपअनुसार निर्माण गर्ने योजना छ। पुनर्निर्माणमा प्रयोग हुने इँटा, काठ, सुर्कीलगायत सामग्री भक्तपुरबाट ल्याइएको छ। दरबारले करिब १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिले जनाएको छ।

स्थानीयले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी आवश्यक बजेट जुटाउन तथा निर्माण कार्यलाई तीव्रता दिन माग गरेका छन्। धार्मिक पर्व र मेलाका बेला सहज रूपमा पूजाआजा गर्न पाउने व्यवस्था मिलाउन पनि उनीहरूले आग्रह गरेका छन्।

शाह वंशको इतिहाससँग जोडिएको दरबार

लमजुङ दरबारको इतिहास शाह वंशको सुरुवातसँग जोडिएको छ। ऐतिहासिक मान्यताअनुसार लमजुङका राजा यशोब्रह्म शाहको पालामा विसं। १५५० मा दरबार निर्माण गरिएको थियो। त्यसपछि विभिन्न समयमा यसको पुनर्निर्माण तथा जीर्णोद्धार हुँदै आएको इतिहासविद्हरू बताउँछन्।

दरबारको पहिलो पुनर्निर्माण वि।सं। १८२० मा भएको र त्यसपछि १९९० सालको भूकम्पपछि जीर्णोद्धार गरिएको विवरण उल्लेख छ। वि.सं. २०४६ सालमा पनि पुनर्निर्माण गरिएको थियो। २०७२ सालको भूकम्पले चर्काएको दरबारमा चट्याङका कारण थप क्षति पुगेको थियो। पानी चुहिने र जीर्ण अवस्थामा पुगेपछि पुनःनिर्माण थालिएको हो।

दरबार तथा मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्मा, महाकाली, महासरस्वती र महालक्ष्मीलगायतका देवीदेवताका मूर्ति नयाँ संरचनामा सार्ने योजना रहेको छ। पुनर्निर्माणमा पुरानै शैलीअनुसार इँटा, ढुंगा, काठ र तामाको छाना प्रयोग गर्ने बताइएको छ।

इतिहासविद्हरूका अनुसार लमजुङका राजा यशोब्रह्म शाहले निर्माण गरेको मानिने यस दरबारसँग तत्कालीन राज्य सञ्चालनको इतिहास जोडिएको छ। गर्मी मौसममा राजा पुरानकोट गढीमा र अन्य समयमा गाउँशहरस्थित दरबार तथा बेँसीसहरमा बस्ने गरेको ऐतिहासिक विवरण पाइन्छ।

वडा दसैँ र चैते दसैँमा विशेष पूजा, पञ्चबली र मेलाका कारण गाउँशहरको कालिका मन्दिरमा भक्तजनको चहलपहल हुने गर्छ। तर, ऐतिहासिक दरबार र आस्थाको केन्द्र मानिने कालिका मन्दिरको पुनर्निर्माण पाँच वर्षसम्म पनि पूरा नहुँदा स्थानीयको चिन्ता बढेको छ।

स्थानीय, विभिन्न संघसंस्था तथा लमजुङवासीले ऐतिहासिक सम्पदाको संरक्षणसँगै धार्मिक परम्परालाई सहज रूपमा निरन्तरता दिन निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका छन्। पर्याप्त बजेट व्यवस्था गरी छाना छाउनेदेखि बाँकी सबै काम छिटो सम्पन्न गर्न सके मात्रै लमजुङको ऐतिहासिक पहिचान र धार्मिक महत्त्व बोकेको सम्पदाको संरक्षण हुन सक्ने उनीहरूको भनाइ छ।

यशोब्रह्म शाहाको शालिक