बाजाजागा सहित गाउँशहरमा भित्र्याइयो फूलपाती

-


     नयाँ दीप    
     असाेज ३१ गते २०८३ मा प्रकाशित


लमजुङको ऐतिहासिक गाउँसहर दरबारस्थित कालिका मन्दिरमा बाजागाजा र फूलमालासहित फूलपाती भित्र्याइएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको सहभागितामा फूलपाती भित्र्याइएको हो।

बेसीशहरस्थित चण्डीबाट फूलपातीको डोली ल्याएर गाउँसहर दरबार तथा कालिका मन्दिर परिसरमा भित्र्याइएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बलका प्रमुख विकास अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी विक्रम देव थापा , प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी सहभागी थिए।

शाहवंशको उद्गमस्थलका रूपमा परिचित गाउँसहरमा फूलपाती भित्र्याउने परम्परा ऐतिहासिक र धार्मिक महत्त्वसँग जोडिएको छ। परम्पराअनुसार बेसीशहरस्थित फूलबारीबाट विभिन्न जातका फूल तथा पूजासामग्री सङ्कलन गरी चण्डीथुम्कामा ल्याइन्छ। त्यहाँ विधिपूर्वक पूजाआजा गरेपछि बाजागाजा र धार्मिक विधिसहित फूलपाती कालिका मन्दिरमा भित्र्याउने गरिन्छ।

यसअघि द्वन्द्वकालपछि सुरक्षा निकायको सहभागिता घटेको र स्थानीयले प्रतीकात्मक रूपमा परम्परा धान्दै आएको बताइन्छ। जिल्ला प्रशासन कार्यालयको पहलमा २०८२ सालको दसैँदेखि तीनवटै सुरक्षा निकायको सहभागितामा सामूहिक रूपमा फूलपाती भित्र्याउन थालिएको हो।

धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै सुरक्षा निकाय र स्थानीय समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको हो।