
यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र १० दिनको भएको छ भने घटस्थापनाको ११औँ दिन अर्थात् कात्तिक ४ गते विजयादशमी मनाइँदैछ। घटस्थापना असोज २५ गते गरिएको थियो।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार अष्टमी तिथि दुई दिनसम्म रहेकाले दशैँ लम्बिएको हो। समितिले विजयादशमीको टीकाको साइत बिहान १०स्२६ बजे निर्धारण गरेको छ। टीका लगाउँदा लगाइदिने व्यक्ति पूर्व र लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ।
नवरात्र देवी दुर्गाका नौ स्वरूपको पूजा–आराधना गर्ने पर्व हो। यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरिन्छ। दशैँमा घटस्थापनाका दिन रोपिएको जौको जमरा देवीको प्रसादका रूपमा मान्यजनबाट टीका र आशीर्वादसँगै ग्रहण गर्ने परम्परा छ।
विजयादशमीलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा लिइन्छ। यस दिन परिवार तथा आफन्तबीच भेटघाट गरी टीका, जमरा र आशीर्वाद आदानप्रदान गरिन्छ।









