
मनाङको ताल गाउँमा बाढीबाट प्रभावित ७० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले स्वास्थ्य परीक्षणसँगै मनोसामाजिक सहयोग र राहत सामग्री वितरण गरेको हो।
असोज ११ गते आएको बाढीका कारण ताल गाउँका घरमा पानी पस्दा खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेको थियो। प्रभावित स्थानीयको स्वास्थ्य अवस्था जाँच गर्न र बाढीबाट उत्पन्न मानसिक तनाव कम गर्न एचडीसीएसको टोली गाउँ पुगेको हो।
स्वास्थ्य परीक्षण गरिएकामध्ये ३३ जना पुरुष र ३७ जना महिला छन्। यस्तै, बाढीका कारण उत्पन्न डर, चिन्ता र तनाव व्यवस्थापनमा सहयोग पुर्याउन ३० जनालाई मनोसामाजिक परामर्श तथा सहयोग प्रदान गरिएको थियो। टोलीले प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीसमेत वितरण गरेको थियो।
एचडीसीएस–नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो। कार्यक्रममा एचडीसीएसका जलवायु तथा विपद् उत्थानशीलता विज्ञ विमल बीके पनि सहभागी थिए।

ताल गाउँका वडाध्यक्ष मिन राशी गुरुङका अनुसार २०७८ सालको बाढीपछि एचडीसीएसले गाउँमा साइरन जडान गर्नुका साथै मनोवैज्ञानिक प्राथमिक उपचार, खोज तथा उद्धार र सुरक्षित स्थानान्तरणसम्बन्धी तालिम दिएको थियो। उक्त तयारीले यसपटकको बाढीको सामना गर्न स्थानीय समुदायलाई सहयोग पुगेको उनले बताए।
एचडीसीएसले स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग र राहतमार्फत तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै विपद् सामना गर्ने समुदायको क्षमता अभिवृद्धिमा समेत सहयोग गर्दै आएको अस्पतालका मनोसामाजिककर्ता शोभा ठकुरीले जानकारी दिनुभयो ।









