कृष्णभीरको सडक ८–१० दिनभित्र सञ्चालनमा आउने, लमजुङ–काठमाडौं यात्रुलाई अझै सास्ती

-


     नयाँ दीप    
     भाद्र २३ गते २०८३ मा प्रकाशित


default

भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड ८ देखि १० दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक सञ्चालनमा आएपछि लमजुङ–काठमाडौं आवतजावतमा देखिएको समस्या केही सहज हुने अपेक्षा गरिएको छ।

लमजुङका सांसद धर्मराज केसीसहित पूर्वाधार विकास समितिको टोलीले कृष्णभीर पुगेर क्षतिग्रस्त सडक र निर्माण भइरहेको नयाँ ट्रयाकको अनुगमन गरेको छ। अनुगमनका क्रममा प्राविधिकहरूले नयाँ ट्रयाक निर्माण, जोखिमयुक्त भित्तो कटान तथा पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको र काम अपेक्षित रूपमा अघि बढे ८ देखि १० दिनभित्र सडक सञ्चालन गर्न सकिने जानकारी गराएका छन्।

कृष्णभीरमा सडक भासिएपछि नियमित पृथ्वी राजमार्गबाट यातायात सञ्चालन हुन नसक्दा लमजुङबाट काठमाडौं जाने यात्रुले लामो र महँगो वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ। बेसीशहरबाट काठमाडौं जाने सवारीसाधन अहिले चितवन, हेटौँडा हुँदै दक्षिणकालीको बाटो प्रयोग गर्न बाध्य छन्।

नियमित मार्गबाट सामान्यतया करिब ५–६ घण्टामा पूरा हुने बेसीशहर–काठमाडौं यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ। वैकल्पिक मार्ग लामो भएपछि यात्रुको समय मात्र होइन, यातायात खर्चसमेत उल्लेख्य रूपमा बढेको छ।

बेसीशहर माइक्रो काउन्टरका अनुसार सडक अवरुद्ध हुनुअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँचदेखि सात वटामात्र सञ्चालनमा छन्। अत्यावश्यक काम परेका यात्रुले मात्र काठमाडौं जाने गरेका छन्।

सडक अवरुद्ध हुनुअघि डिजेल माइक्रोबसको भाडा रु। ९०० र विद्युतीय माइक्रोबसको रु। ७०० रहेकामा अहिले क्रमशः रु। २ हजार र रु। १ हजार ५ सय पुगेको छ।

ठूला बसको सञ्चालनसमेत प्रभावित भएको छ। पृथ्वी राजमार्ग बस काउन्टरका अनुसार यसअघि बेसीशहरबाट काठमाडौं दैनिक पाँचदेखि छवटा ठूला बस छुट्ने गरेकामा अहिले एउटा बसमात्र सञ्चालनमा छ। वैकल्पिक मार्ग र दूरीअनुसार भाडा फरक पर्ने भएकाले हाल निश्चित भाडा तोकिएको छैन। यसअघि रु। ९ सयदेखि १ हजार २ सयसम्म रहेको ठूला बसको भाडा अहिले दोब्बरभन्दा बढी पुगेको छ।

बाढी तथा सडक भासिएपछि कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि नयाँ ट्रयाक निर्माण र सडक मर्मतको काम अघि बढाइएको हो। सडक निर्धारित समयमै सञ्चालनमा आए लमजुङसहित मनाङ र आसपासका जिल्लाबाट काठमाडौं आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई ठूलो राहत पुग्नेछ।