
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन महिनाको अन्तिम साताभित्र स्थानीय तहको निर्वाचन गराउने गरी तयारी अघि बढाएको छ।
आयोगका आयुक्त राजीव सुब्बाका अनुसार प्रचलित कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचनको तयारी भइरहेको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार आयोगले आफ्नो तयारी अगाडि बढाएको उनले बताए।
निर्वाचनका लागि आवश्यक आन्तरिक तयारी आयोगले अघि बढाइसकेको भए पनि सरकारसँग गर्नुपर्ने समन्वयका काम भने बाँकी रहेको आयुक्त सुब्बाको भनाइ छ।
हाल आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कामलाई अघि बढाइरहेको छ। निर्वाचनको मिति तथा आवश्यक व्यवस्थापनका विषयमा सरकारसँग समन्वय गर्दै थप प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँ सभा वा नगर सभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा कम्तीमा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारी गरिरहेको हो।









