मर्स्याङ्दीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ किसानलाई प्रोत्साहन

-


     नयाँ दीप    
     असाेज २७ गते २०८३ मा प्रकाशित


लमजुङ। मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ। हाटबजारको शुभारम्भसँगै गाउँपालिकाले ५६ जना गोरुपालक किसानलाई जनही ५ हजार रुपैयाँका दरले कुल २ लाख ८० हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान गरेको छ।

कृषि तथा पशु हाटबजार सञ्चालक समितिले गाउँपालिकाको प्रवर्द्धनमा आयोजना गरेको हाटबजार असोज २७ देखि २९ गतेसम्म कृषि तथा पशु सेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ।

स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण, उचित मूल्य सुनिश्चितता र उपभोक्तालाई स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालन गरिएको हो। हाटबजारमा ताजा तरकारी, फलफूल, खसीबोका, भेडा, कुखुरालगायत कृषि तथा पशुजन्य उपजको खरिदबिक्री भइरहेको छ।

गाउँपालिकाले हाटबजारमा कृषि उपज बिक्री गर्ने किसानलाई बिक्री मूल्यको ५ प्रतिशत तथा खसीबोका, भेडा र कुखुरालगायत पशुपन्छी बिक्री गर्ने किसानलाई ३ प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरेको छ। बिक्री नभएका कृषि तथा पशुजन्य उपजका लागि समर्थन मूल्यको समेत व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।

हाटबजारले किसानलाई आफ्ना उत्पादन प्रत्यक्ष बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको खपत बढाउन र कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले किसान, पशुपालक, व्यवसायी तथा उपभोक्तालाई हाटबजारमा सहभागी भई स्थानीय उत्पादनको खरिदबिक्रीलाई प्रोत्साहन गर्न आग्रह गरेको छ।