
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ घलेगाउँमा उत्कृष्ट होमस्टे तथा सर्वाधिक करदातालाई सम्मान गर्दै पर्यटन व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
शनिबार आयोजित सभामा होमस्टे नम्बर ९ का सञ्चालक विष्णु गुरुङलाई वर्षोत्कृष्ट होमस्टे सञ्चालकका रूपमा सम्मान गरिएको छ। यस्तै, होमस्टे नम्बर ४४ का सञ्चालक गंगाबहादुर घले सर्वाधिक होमस्टे करदाता र टीएम होलिडे होम रिसोर्टका सञ्चालक नवराज घले सर्वाधिक होटल करदाताका रूपमा सम्मानित भएका छन्।
सभाको उद्घाटन गर्दै क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले घलेगाउँले ग्रामीण पर्यटनमा नमुना पहिचान बनाएको बताए। स्थानीय भाषा, कला, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा उनले जोड दिए।
सभामा आर्थिक वर्ष २०८२/८३ मा समितिले २९ लाख २० हजार ५९१ रुपैयाँ आम्दानी र २६ लाख २१ हजार ३०९ रुपैयाँ खर्च गरेको विवरण प्रस्तुत गरिएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ का लागि ४७ लाख २७ हजार ५०० रुपैयाँको अनुमानित बजेटसमेत सार्वजनिक गरिएको छ।
यसैगरी, नवौँ स्मार्ट भिलेज आमन्त्रित गोल्डकप–२०८३ मा आर्थिक सहयोग गर्ने हिमाली आमा समूह र घलेगाउँ सञ्चालन समितिलाई पनि सम्मान गरिएको थियो।
ग्रामीण पर्यटनको विकास, स्थानीय संस्कृति संरक्षण र होमस्टे व्यवसायको प्रवर्द्धनमा घलेगाउँले निरन्तर पहिचान बनाउँदै आएको छ।









