अनुगमनको सुइँको पाएपछि भकुण्डेबेँसीका केही व्यवसायी सटर बन्द गरेर भागे

-


     नयाँ दीप    
     असाेज २५ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेबेँसी र वडा नं। ३ रानीकुवामा गरिएको बजार अनुगमनका क्रममा अनुगमन टोली आएको सुइँको पाएपछि भकुण्डेबेँसीका केही व्यवसायीले सटर बन्द गरेर भागेका छन्।

शनिबार गरिएको अनुगमनका क्रममा दुवै स्थानका १३ वटा व्यवसायको निरीक्षण गरिएको थियो। रानीकुवाका ५ वटा र भकुण्डेबेँसीका ८ वटा व्यवसायमा अनुगमन गरिएको हो। अनुगमन टोली आएको जानकारी पाएपछि भकुण्डेबेँसीका केही व्यवसायीले पसल बन्द गरेको जनाइएको छ।

अनुगमन गरिएका व्यवसायमध्ये किराना तथा स्टोर्स ८, होटल तथा खाजाघर २, कस्मेटिक पसल १, राइस मिल १ र ब्युटी पार्लर १ वटा रहेका थिए।

अनुगमनका क्रममा म्याद गुज्रिएका च्याप्टी १७ वटा, बेसार २३ पोका, पानीपुरी मसला ४ वटा, सुजी ६ पोका, प्राउन १० वटा र मिट मसला २० पोका फेला परेका थिए। उक्त अखाद्य तथा म्याद गुज्रिएका सामग्री तत्काल नष्ट गरिएको टोलीले जनाएको छ।

एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, खरिदार दिननाथ अधिकारी, बेसीशहर नगरपालिकाका प्रतिनिधि रेशमबहादुर घिमिरे, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिता केसी, उपभोक्ता हित तथा संरक्षणका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधिलगायत सहभागी थिए।

चाडपर्वका बेला हुन सक्ने कालोबजारी, कृत्रिम अभाव तथा जम्माखोरीलाई प्राथमिकतामा राखेर अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताए। अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्ता हित संरक्षण र खाद्य सुरक्षासम्बन्धी आवश्यक सुझावसमेत दिइएको उनले जानकारी दिए।

आर्थिक वर्ष २०८३र८४ मा हालसम्म १३ पटक बजार अनुगमन गरिएको छ। त्यसमध्ये ५ पटक चाडपर्वलाई लक्षित गरी अनुगमन गरिएको जनाइएको छ।

बजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव तथा म्याद गुज्रिएका र गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ।