
लमजुङ । श्री चिती कार्किडाँडा सेवा समाज, बेसीशहर लमजुङको चाडपर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नजिकिदै गरेको वडा दशैं, दिपावली, छठ तथा नेपाल सम्वदको असवरमा बेसीशहर नगरपालिका–८ स्थित हुलाकी भवनमा आयोजित कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, अतिथि सदस्य तथा पूर्वपदाधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा समाजका अध्यक्ष शिवराम सिलुवालले संस्थाका गतिविधिबारे जानकारी गराउँदै चाडपर्वले हर्षोल्लाससँगै एकता, सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्ने बताउनुभयो । समाजले अपेक्षाअनुसार सबै काम गर्न नसके पनि संस्थाको सक्रियता र सामाजिक प्रभाव सकारात्मक रहेको उहाँको भनाइ थियो ।
समाजका सल्लाहकार गुणराज सिलुवालले संस्थालाई बलियो र दिगो बनाउन नियमित कार्यक्रमसँगै दीर्घकालसम्म स्मरणीय रहने रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अतिथि सदस्य भोला शर्माले समाजले गरेका कामहरू प्रशंसनीय रहेको बताउनुभयो ।
त्यस्तै, अतिथि सदस्य सुनीता सिलुवालले चाडपर्वलाई सभ्य र सुसंस्कृत बनाउनुपर्ने उल्लेख गर्दै चाडपर्वका नाममा हुने सामाजिक विकृति अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
समाजका ज्येष्ठ सदस्य कमलराज सिलुवालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकार भरतबहादुर विष्ट, ज्येष्ठ सदस्य मोलिकला सिलुवाललगायत वर्तमान तथा पूर्वपदाधिकारीहरूको उपस्थिति थियो ।
समाजका अध्यक्ष शिवराम सिलुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सल्लाहकार बासुदेव सेढाईंले गर्नुभएको थियो ।









