कांग्रेस केन्द्रीय सदस्यमा लमजुङबाट ९ जना मैदानमा, इतिहासमा पहिलो निर्वाचित केन्द्रीय सदस्यको खोजी

-


     नयाँ दीप    
     असाेज १९ गते २०८३ मा प्रकाशित


लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट विभिन्न क्लस्टरअन्तर्गत ९ जना नेताले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन्। खुला, भूगोल तथा समावेशी समूहबाट नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दाबी सार्वजनिक गरेका हुन्।

गण्डकी प्रदेश भूगोलतर्फ कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। खुलातर्फ पूर्वजिल्ला सभापति तुलसीनारायण श्रेष्ठले दाबी गरेका छन्।

खस–आर्यतर्फ पूर्वजिल्ला सभापति एवं सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, आदिवासी जनजातितर्फ गमप्रसाद गुरुङ, आदिवासी जनजाति महिला क्लस्टरतर्फ गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ र अस्मिता गुरुङ ‘खुशिमाया’ले उम्मेदवारीको तयारी गरेका छन्।

त्यस्तै, दलिततर्फ भिउसिन दमै, दलित महिला क्लस्टरतर्फ गण्डकी प्रदेशसभा सदस्य टीकाकुमारी बस्याल तथा अल्पसंख्यक क्लस्टरतर्फ भीमबहादुर दुराले केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन्।

कांग्रेसको इतिहासमा लमजुङबाट अहिलेसम्म निर्वाचित केन्द्रीय सदस्य बनेका छैनन्। तत्कालीन समयमा दिलबहादुर घर्ती भने पार्टी सभापतिबाट मनोनित केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि पनि लमजुङबाट विभिन्न महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी परे पनि निर्वाचित हुन सकेका छैनन्।

यसपटक भने खुला, भूगोल र विभिन्न समावेशी क्लस्टरमा एकैपटक ९ जनाको दाबी आएपछि लमजुङ कांग्रेसमा महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ। जिल्लाबाट पहिलोपटक निर्वाचित केन्द्रीय सदस्य बन्ने प्रयासमा रहेका नेताहरूका कारण पनि यसपटकको प्रतिस्पर्धा लमजुङ कांग्रेसका लागि महत्वपूर्ण बनेको छ।