कांग्रेसको १५औँ महाधिवेशन: नयाँ–पुराना पुस्ता जोड्ने थापाको संकल्प

-


     नयाँ दीप    
     असाेज १८ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले कांग्रेसलाई नयाँ र पुराना पुस्ताबीचको पुलका रूपमा अघि बढाउने बताउनुभएको छ।

थापाले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर पार्टी अघि बढ्ने बताउँदै कांग्रेसले लोकतन्त्र, समुन्नति, न्याय र नागरिकको विश्वासको पुल बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले पार्टीको मूल्यांकन स्थापना भएको वर्षले नभई वर्तमानका नागरिकका प्रश्नको उत्तर दिन सक्ने क्षमताबाट हुने बताउनुभयो।

उहाँले कांग्रेसको राजनीतिक शैली, भाषा, सोच, संस्कार र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको कुर्सीका लागि हुने निरन्तरको राजनीतिक दौड र एउटै अनुहार पटक–पटक सत्तामा दोहोरिने प्रवृत्तिले नागरिकमा राजनीतिप्रति वितृष्णा बढाएको थापाको भनाइ थियो। यही असन्तुष्टिको पृष्ठभूमिमा गत वर्ष भदौ २३ र २४ गतेका घटना भएको उहाँले उल्लेख गर्नुभयो।

थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी राखिएको भए पनि उहाँ सहभागी नभएको बताउँदै नेतृत्वलाई सम्मान काम र योगदानका आधारमा हुनुपर्ने धारणा राख्नुभयो।

खुलामञ्चमा महाधिवेशन आयोजना गर्नुको कारणबारे थापाले जनआन्दोलन र राजनीतिक परिवर्तनका महत्वपूर्ण सभा भएको स्थान भएकाले खुलामञ्च रोजिएको बताउनुभयो। उहाँले पार्टीभित्र पनि प्रश्न गर्न सकिने र डर–त्रासबाट मुक्त वातावरण आवश्यक रहेको बताउनुभयो।

थापाले संसद् खुला, सक्रिय र जवाफदेही हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित हुनुपर्ने बताउनुभयो। साथै, एआई र अटोमेसनले आगामी दिनमा पार्ने प्रभावबारे समेत गम्भीर बहस आवश्यक रहेको उहाँको भनाइ थियो।

महाधिवेशनमा करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन्।