हिमलुङ हिमालमा थप तीन शव फेला, अझै ९ जना बेपत्ता

-


     नयाँ दीप    
     असाेज १४ गते २०८३ मा प्रकाशित


फोटो एआइद्धारा निर्मित

मनाङको हिमलुङ हिमालमा जारी खोज तथा उद्धार अभियानका क्रममा बुधबार थप तीन जनाको शव फेला परेको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो।

हिमलुङ बेसक्याम्पबाट ल्याइएका तीनै शव बुधबार दिउँसो करिब ४ः४२ बजे चामे ल्याइएको थियो। शव चामेस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। बिहीबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताए।

गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का २१ वर्षीय सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कलम बुढा हुन्। तीनै जना हिमालयन होलिडेजसँग आबद्ध रहेको प्रशासनले जनाएको छ।

हिमलुङ हिमालमा गएको हिमपहिरोमा अझै नौ जना बेपत्ता छन्। तीमध्ये हिमालयन होलिडेजका सात र इम्याजिन नेपालका दुई जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राई तथा आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

बेपत्ताको खोजी तथा शव निकाल्न अनुभवी आरोहण गाइडसहितको टोली हिमलुङ क्षेत्रमा परिचालित छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँचभन्दा बढी अनुभवी गाइड खोज तथा उद्धारमा खटिएका छन्। बेपत्ताको खोजी र शव निकाल्ने अभियान जारी रहेको एसोसिएसनले जनाएको छ।