
पछिल्ला तीन दिनदेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले मनाङमा जनजीवन प्रभावित बनाएको छ। बाढी–पहिरोका कारण चामे गाउँपालिकाका घर तथा संरचनामा क्षति पुगेको छ भने नार्फा भूमि गाउँपालिकाको हिमलुङ बेस क्याम्पमा पुगेका केही व्यक्ति बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार चामे गाउँपालिका–५ का नौ घर डुबानमा परेका छन्। त्यस्तै चामे–४ मा चार घर, एउटा चर्च र एउटा गोठ बाढीले बगाएको छ।

नार्फा भूमि गाउँपालिका–५ स्थित हिमलुङ बेस क्याम्प पुगेका २८ जनामध्ये ११ जना सम्पर्कमा आएका छन् भने १२ जना अझै बेपत्ता छन्। घटनामा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई जनाको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ भने दुई जनाको शव मनाङमै रहेको प्रहरीले जनाएको छ।
बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि टोली परिचालन गरिए पनि करिब १० फिटसम्म जमेको हिउँ खन्न कठिन भएपछि सोमबार उद्धार कार्य रोकिएको बोहराले बताउनुभयो । उहाँका अनुसार मगंलबार बिहानदेखि पुनः उद्धार तथा खोजी कार्य सुरु गरिनेछ।

बाढी–पहिरोका कारण मनाङको विद्युत् र सञ्चार सेवा पनि प्रभावित भएको छ। विद्युत् लाइन अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत नहुँदा जिल्लाका विभिन्न क्षेत्र सञ्चारविहीन अवस्थामा छन्।
चामेमा प्रभावित स्थानीयलाई नेपाली सेनाको फुटबल मैदानमा टेन्टको व्यवस्था गरी सुरक्षित स्थानमा राखिएको छ। जोखिममा रहेका बासिन्दालाई घरबाट सुरक्षित स्थानमा सारेर सुरक्षा तथा आवश्यक व्यवस्थापन मिलाइएको प्रहरीले जनाएको छ।
यसैबीच घट्टेखोलाको बाढी र पहिरोका कारण मर्स्याङ्दी नदीको बहावसमेत थुनिएको छ। नदी थुनिएपछि करिब पाँच मिटर गहिरो, ७५ मिटर लामो र ३५ मिटर चौडा ताल बनेको बताइएको छ। नदी थुनिएको क्षेत्रमा थप जोखिम हुन नदिन भोलिबाट पानीको निकास खोल्ने तयारी गरिएको छ।
मर्स्याङ्दी थुनिएपछि तल्लो तटीय क्षेत्रमा समेत बाढी आउन सक्ने त्रास बढेपछि चामे, कोतो, धारापानीलगायतका स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको थियो। कतिपय स्थानीयले जंगल, ओडार, विद्यालय तथा अन्य सुरक्षित भवनमा रात बिताउनुपरेको थियो।
पछिल्लो अवस्थासँगै तत्कालको जोखिम केही कम भए पनि पहिरो खस्ने क्रम र नदीको अवस्था पूर्ण रूपमा सामान्य नभएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

फोटो: कृष्ण गुरुङ
मनाङ









