उत्पादन, रोजगारी र उद्यमलाई केन्द्रमा राख्ने कांग्रेसको अवधारणा अघि सार्दै जितेन्द्र विक्रम शाहीको उम्मेदवारी

-


     नयाँ दीप    
     असाेज १२ गते २०८३ मा प्रकाशित


नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि जितेन्द्र विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन्। नर्वेमा लामो समयदेखि व्यवसाय, सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न शाहीले आफ्नो उम्मेदवारीसँगै ‘अबको कांग्रेस स् उत्पादन, रोजगारी र समृद्धिको कांग्रेस’ भन्ने अवधारणा अघि सारेका छन्।

शाही नेपाली जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल सभापति भइसकेका छन्। २०२५ मा सम्पन्न समितिको पाँचौँ अधिवेशनले उनलाई निवर्तमान सभापतिको रूपमा बिदाइ गर्दै पारस मणि मिश्रलाई नयाँ सभापति चयन गरेको थियो। सोही अधिवेशनबाट शाही १५औँ महाधिवेशनका लागि महासमिति सदस्यमा समेत चयन भएका थिए।

विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय शाहीले सीटीईभीटी कर्मचारी संघको नेतृत्वसमेत गरिसकेका छन्। डोटीबाट प्रतिनिधिसभा निर्वाचनका लागि उनको नाम यसअघि पनि सिफारिस भएको थियो। पछिल्लो समय उनी व्यापार, अनुसन्धान र सामाजिक क्षेत्रमा समेत सक्रिय नेपाली जनसम्पर्क समिति नर्वेका उपाध्यक्ष रमेश घिमिरेले बताउनुभयो ।

‘कांग्रेस अब उत्पादनसँग जोडिनुपर्छ’

उम्मेदवारी घोषणासँगै सार्वजनिक गरेको अपिलमा शाहीले कांग्रेसलाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी उत्पादन, रोजगारी, उद्यम र जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिनुपर्ने धारणा राखेका छन्।

उनले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउँदै उत्पादनसँगै प्रविधि, सिँचाइ, भण्डारण, प्रशोधन, बजार र उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताएका छन्। युवालाई आधुनिक कृषि, कृषि उद्यम र प्रविधिसँग जोडेर रोजगारी सिर्जना गर्नुपर्ने उनको प्रस्ताव छ।

पर्यटनलाई पनि उनले आर्थिक अवसरसँग जोड्नुपर्ने बताएका छन्। हिमाल, पहाड, नदी, वन्यजन्तु र जैविक विविधतासँगै नेपालका मौलिक संस्कृति, भाषा, कला, लोकगीत, लोकनृत्य, पर्व र परम्परालाई पर्यटनसँग जोडेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने उनको धारणा छ।

नेपाली कांग्रेसका सभापति गगन थापासँग जितेन्द्र विक्रम शाही।

प्रवासी नेपालीलाई आर्थिक रूपान्तरणको साझेदार बनाउने प्रस्ताव

शाहीको अपिलमा विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

युरोपलगायत विभिन्न देशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा नभई कृषि, पर्यटन, प्रविधि, उद्योग तथा उद्यममा लगानी र ज्ञान हस्तान्तरण गर्ने साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।

नर्वेमा जनसम्पर्क समितिको नेतृत्व गर्दा संस्थागत सुदृढीकरण, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिएको शाहीले बताउँदै आएका छन्। २०२५ को अधिवेशनमा पनि उनले आफ्नो कार्यकालको समीक्षा गर्दै नयाँ नेतृत्वलाई संस्थागत रूपमा अघि बढ्न सुझाव दिएका थिए।

राजनीति जनताको जीवनसँग जोडिनुपर्नेमा जोड

शाहीले आफ्नो राजनीतिक प्राथमिकतामा गाँस, बास, स्वास्थ्य, शिक्षा र रोजगारीलाई केन्द्रमा राखेका छन्। राजनीति जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम बन्नुपर्ने भन्दै उनले कांग्रेसलाई उत्पादनमुखी, रोजगारमुखी, उद्यमशील, प्रकृति संरक्षणमुखी, संस्कृति प्रवर्द्धनमुखी र युवामैत्री संगठनका रूपमा अघि बढाउने आफ्नो सोच सार्वजनिक गरेका छन्।

उनको उम्मेदवारीको मुख्य राजनीतिक सन्देश भने प्रवासमा रहेको नेपाली अनुभव, सीप र पूँजीलाई स्वदेशको उत्पादन तथा रोजगारीसँग जोड्ने र कांग्रेसको राजनीतिक एजेन्डालाई आर्थिक विकाससँग जोड्ने देखिन्छ।

शाहीले आफ्नो अपिलमा भनेका छन्, “यो उम्मेदवारी केवल एउटा पदका लागि होइन, कांग्रेसको राजनीतिक सोचलाई उत्पादन, रोजगारी, उद्यम, प्रकृति, संस्कृति र आर्थिक समृद्धिसँग अझ गहिरो रूपमा जोड्ने एउटा विचारका लागि हो।”

यसरी नर्वेमा लामो समयदेखि संगठन र व्यवसायसँग जोडिएका शाहीले १५औँ महाधिवेशनमा प्रवासबाट केन्द्रीय सदस्यको उम्मेदवारीसँगै कांग्रेसको आगामी राजनीतिक दिशाबारे आफ्नो आर्थिक तथा संगठनात्मक दृष्टिकोण पनि अघि सारेका छन्।