
लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा विभिन्न शैक्षिक तथा उत्कृष्टता सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्याउने शिक्षकलाई सम्मान गरिएको छ।
त्यस्तै, एसईईमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, कक्षा ५ र ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय तथा शैक्षिक सत्र २०८२ देखि शिक्षा दिवस–२०८३ सम्म निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रम सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा शिक्षा शाखा प्रमुख वसन्त बरुवाललगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले गरेका थिए।
गाउँपालिकाका अनुसार शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद, फूलमाला, सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको हो। शिक्षाको गुणस्तर अभिवृद्धि र उत्कृष्ट कार्यका लागि प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रम असोज २ गते मर्स्याङ्दी गाउँपालिका–भुलभुलेस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरे सभाहलमा सम्पन्न भएको हो।









