
लमजुङको बेंसीशहरमा आधुनिक प्रविधिबाट तरकारी उत्पादन, व्यवस्थापन तथा बजारीकरणसम्बन्धी एकदिने निःशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको प्रशिक्षणमा आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण, उत्पादन वृद्धि र बजारीकरणका विषयमा जानकारी दिइएको हो।
पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्रै अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा कृषकलाई आधुनिक प्रविधि तथा व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसका प्राध्यापक उत्सव पाण्डे र प्राध्यापक सविन कार्कीले सहजीकरण गरेका थिए। उनीहरूले आधुनिक तरकारी खेतीका प्रविधि, माटो तथा बाली व्यवस्थापन, उत्पादन वृद्धि गर्ने उपाय, लागत व्यवस्थापन र व्यावसायिक खेतीका विभिन्न पक्षबारे कृषकलाई जानकारी गराएका थिए।
प्रशिक्षकहरूले तरकारी उत्पादनसँगै बजार व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। बजारको माग, उपभोक्ताको रुचि, उत्पादनको गुणस्तर तथा उचित मूल्य प्राप्त गर्ने रणनीतिलाई ध्यान दिएर कृषि व्यवसाय सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ थियो।
आधुनिक प्रविधिको उचित प्रयोग गर्न सके कम क्षेत्रफलबाट समेत तुलनात्मक रूपमा बढी उत्पादन लिन सकिने र कृषि पेसालाई आम्दानीको भरपर्दो स्रोत बनाउन सकिने विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालयका प्रबन्धक सुवास भट्टराईले कृषि क्षेत्रमा बैंकको लगानी तथा बैंकिङ सेवाबारे जानकारी गराएका थिए। उनले व्यावसायिक कृषि उत्पादनमा जोडिन चाहने कृषकलाई वित्तीय क्षेत्रबाट प्राप्त हुन सक्ने सहयोग, कृषि कर्जालगायतका सेवाका विषयमा जानकारी दिए।
कृषकले आधुनिक प्रविधि र व्यावसायिक योजनासहित कृषि पेसालाई अघि बढाउन सके वित्तीय संस्थाबाट आवश्यक सहयोग लिन सकिने बताउँदै भट्टराईले उत्पादनसँगै कृषि व्यवसायको वित्तीय व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए।
प्रशिक्षणमा सहभागी कृषकहरूले आधुनिक तरकारी खेतीका क्रममा देखिने व्यावहारिक समस्या, उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा कृषि व्यवसायका चुनौतीबारे प्रशिक्षकसँग छलफल गरेका थिए। सहभागीहरूले आफूले गर्दै आएको खेती प्रणालीमा नयाँ प्रविधि र ज्ञानलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे समेत जानकारी लिएका थिए।
लमजुङमा तरकारी खेतीको राम्रो सम्भावना रहे पनि उत्पादन, भण्डारण, बजार व्यवस्थापन र उचित मूल्य प्राप्त गर्ने विषयमा कृषकले विभिन्न समस्या भोग्दै आएका छन्। यस्तो अवस्थामा उत्पादनदेखि बजारीकरणसम्मका विषय समेटिएको प्रशिक्षणले कृषकलाई व्यावसायिक कृषि प्रणालीतर्फ अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सका सञ्चालक निर्मलजङ घलेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सका अरुण ढकाललगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन आश गुरुङले गरेका थिए।
आयोजकका अनुसार कृषिलाई निर्वाहमुखी प्रणालीबाट व्यावसायिकतातर्फ लैजान, आधुनिक प्रविधिको प्रयोग बढाउन र कृषकको आम्दानी वृद्धि गर्न यस्ता प्रशिक्षणलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।










