किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, पक्राउविरुद्ध पत्रकार महासङ्घको धर्ना

-


     नयाँ दीप    
     श्रावण २८ गते २०८३ मा प्रकाशित


काठमाडौं — जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थपको अनुमति दिएको हो।

श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ गरेको थियो।

श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घले जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना दिएको छ। महासङ्घले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ।

यसैबीच, प्रेस काउन्सिल नेपालले पनि श्रेष्ठ पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। काउन्सिलले समाचार वा पत्रकार आचारसंहितासम्बन्धी विषयमा चित्त नबुझे स्थापित कानुनी तथा प्रेससम्बन्धी प्रक्रियाबाट समाधान खोज्न आग्रह गरेको छ।

महासङ्घले पनि समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्नुपर्ने भन्दै पत्रकारलाई नै पक्राउ गरी हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने जनाएको छ।