बन्धक बनाई जबर्जस्ती चेक काट्न लगाएको आरोपमा एक पक्राउ

-


     नयाँ दीप    
     श्रावण १८ गते २०८३ मा प्रकाशित


स्याम्पल फोटो, एआईबाट निर्मित

लमजुङमा एक फार्म सञ्चालकलाई रातभर शरीर बन्धक बनाई कुटपिट तथा मानसिक यातना दिँदै जबर्जस्ती चेक काट्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–६ निवासी ३३ वर्षीय अर्जुन खनाललाई शरीर बन्धक तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

प्रहरीका अनुसार २०८३ जेठ २२ गते बेलुका करिब ७:३० बजेदेखि मध्यनेपाल नगरपालिका–१ जितास्थित ग्रिन ग्रो एग्रो फार्मका सञ्चालक भक्तपुर नगरपालिका–७ निवासी ५६ वर्षीय बलराम साँयजुलाई फार्मभित्र बन्धक बनाइएको थियो। उनलाई भोलिपल्ट बिहान करिब ८:३० बजेसम्म नियन्त्रणमा राखी लातामुक्काले कुटपिट गर्नुका साथै खुकुरी देखाएर धम्क्याइएको प्रहरीले जनाएको छ।

आरोपीले खुकुरीको पछाडिको भागले शरीरका विभिन्न स्थानमा प्रहार गरी डर, त्रास र मानसिक यातना दिँदै विभिन्न रकमका चेक जबर्जस्ती काट्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार रहेका अर्जुन खनाललाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले साउन १८ गते सुन्दरबजार नगरपालिका–१ कुन्छाबाट पक्राउ गरेको हो।

पक्राउ परेका खनालविरुद्ध शरीर बन्धक तथा आपराधिक लाभ सम्बन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।