
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का विकास आयोजना समयमै सम्पन्न गराउने उद्देश्यले विस्तृत कार्यान्वयन कार्ययोजना लागू गरेको छ। गाउँकार्यपालिकाको नयाँ आर्थिक वर्षको पहिलो बैठकबाट स्वीकृत उक्त कार्ययोजनाले योजना छनोटदेखि निर्माण सम्पन्न र भुक्तानीसम्मका सम्पूर्ण प्रक्रिया निश्चित समयसीमाभित्र सम्पन्न गर्ने व्यवस्था गरेको हो।
कार्ययोजनाअनुसार १५ लाख रुपैयाँभन्दा माथिका विकास योजनाको ठेक्का प्रक्रिया भदौ १५ गतेभित्र अघि बढाइनेछ। उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाका लागि आवश्यक समिति गठन पनि यही अवधिभित्र पूरा गरिने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
त्यसैगरी, मङ्सिर १५ गतेसम्म सबै योजनाको प्राविधिक स्टिमेट तयार गरिने, मङ्सिर मसान्तभित्र योजना सम्झौता सम्पन्न गरिने तथा आगामी चैत मसान्तसम्म सबै विकास आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। निर्माण सम्पन्न भएका योजनाको भुक्तानी भने आगामी जेठ मसान्तभित्र गरिसक्ने कार्यतालिका बनाइएको छ।
गाउँपालिका अध्यक्ष गुरुङले विकास आयोजनामा हुने ढिलासुस्ती अन्त्य गरी समयमै गुणस्तरीय काम सम्पन्न गराउने उद्देश्यले स्पष्ट कार्ययोजना तयार गरिएको बताउनभयो । उनका अनुसार १५ लाख रुपैयाँभन्दा बढी लागतका सबै योजना प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियाबाट सञ्चालन गरिनेछ भने १० लाख रुपैयाँसम्मका योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै हुने व्यवस्था गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले कार्ययोजनाले विकास आयोजना कार्यान्वयनलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे। उनले सबै सरोकारवाला निकायलाई निर्धारण गरिएको समयसीमाको पूर्ण पालना गर्दै विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्नुभएकोे छ ।
गाउँपालिकाको यो कार्ययोजनाले विकास आयोजना निर्धारित समयभित्र सम्पन्न गराउने, अनावश्यक ढिलाइ घटाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।










