भानु र घाँसीको शालिक तोडफोड गर्ने एक जना पक्राउ

-


     नयाँ दीप    
     श्रावण ९ गते २०८३ मा प्रकाशित


लमजुङको मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेस्थित रिस्ती खोलाको पुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गर्ने आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति करिब १०:३० बजे अज्ञात व्यक्तिले शालिकमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा शालिक तोडफोडमा संलग्न रहेको आरोपमा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवरलाई साउन ८ गते इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक धुर्बप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याई आपराधिक उपद्रव सम्बन्धी कसुरमा जिल्ला अदालत लमजुङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।