
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिका भित्रका २५ जना फुटबल तथा भलिबल खेलाडीलाई सम्मान तथा प्रोत्साहन गरेको छ।
आर्थिक वर्ष २०८२\०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत बुधबार आयोजित कार्यक्रममा खेलाडीलाई खेल सामग्रीसहित नगद प्रोत्साहन प्रदान गरिएको हो।
गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मस्र्याङ्दी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितालगायत खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पुरााएका खेलाडीको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
उत्कृष्ट प्रदर्शन गरेका पालिकाभित्रका २५ जना खेलाडीलाई जनही १० हजार रुपैयाँ नगद र १० हजार रुपैयाँ बराबरको जुत्ता, जर्सी, ट्र्याकसुट, झोला, सक्स लगायतका खेलकुदमा प्रयोग हुन सामग्री प्रदान गरिएको छ। गाउँपालिकाका स्थायी बासिन्दा भई फुटबल तथा भलिबल खेलमा सक्रिय खेलाडीलाई खेकुदमा हौसला प्रदान गर्न सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष गुरुङले खेलकुद युवाको क्षमता विकास, अनुशासन, नेतृत्व तथा स्वस्थ समाज निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि खेलाडीको मनोबल बढाउने र खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभएको छ ।











