अगुवा कृषकलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम प्रदान

-


     नयाँ दीप    
     जेठ ३१ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहरमा अगुवा कृषकहरुलाई परागसेचकमैत्री कृषिमा आधारित प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । दिगो कृषि र जैविक विविधताका लागि परागसेचकको संरक्षण र सम्बद्र्धन भन्ने नाराका साथ बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका ९ जना अगुवा कृषकहरुलाई तालिम प्रदान गरिएको हो ।

हर्ड इन्टरनेसनल लमजुङको आयोजनामा डार्विन इनिसिएटिभ एक्स्ट्राः नेपाल परागसेचन परियोजना अन्र्तगत जेठको २४ गते देखि ३० गते सम्म ७ दिने परागसेचकमैत्री कृषिमा आधारित कृषक पाठशाला संचालनका लागि प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो ।

तालिमको मुख्य उद्देश्य नेपालमा परागसेचन सम्बन्धी सचेतना अभिवृद्धि, जैविक विविधताको संरक्षण, दिगो तथा वातावरणमैत्री कृषि अभ्यासलाई प्रवद्र्धन तथा कृषि अनुसन्धान क्षमता सुदृढ गर्नु रहेको छ । साथै परियोजनाले जैविक विविधता संरक्षण, बाली उत्पादन, किसानको आय तथा खाद्य र पोषण सुरक्षा वृद्धि गर्ने लक्ष्य लिएको संस्थाको जिल्ला कृषि अधिकृत सुनिता पौडेलले बताउनुभयो ।

कृषि क्षेत्रमा परागसेचकहरूको महत्त्वबारे कृषकहरूलाई जानकारी गराउँदै दिगो कृषि प्रणालीको विकासमा सहयोग पु¥याउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिमको सहजीकरण हर्ड इन्टरनेसनल लमजुङका जिल्ला कृषि अधिकृत सुनिता पौडेल र जिल्ला कृषि प्राविधिक प्रसन्न पोखरेलले गरेका थिए । साथै जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट आमन्त्रित विषय विज्ञ प्रशिक्षकहरूले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

तालिमबाट स्थानीय कृषकहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि हुनुका साथै परागसेचक संरक्षण र दिगो कृषि प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखिएको छ ।

नेपाल परागसेचन परियोजना अन्तर्गत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १२ जिल्लाका २४ स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आगामी चार वर्षसम्म कार्यक्रम सञ्चालन हुने जनाइएको छ । परियोजनाअन्तर्गत दिगो कृषि तथा जैविक विविधता संरक्षणका लागि परागसेचकहरूको संरक्षण र प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

यस परियोजनाका साझेदार संस्थाहरूमा नेपाल सरकार, डार्विन इनिसिएटिभ, ब्रिस्टल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा स्थानीय पहल जैविक विविधता, अनुसन्धान तथा विकास संस्था छन् ।