राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा

-


     नयाँ दीप    
     जेठ १९ गते २०८३ मा प्रकाशित


राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ। वि।सं। २०५८ जेठ १९ गते राति भएको उक्त घटनाले नेपालको इतिहासमा गहिरो छाप छोडेको थियो।

नारायणहिटी दरबारस्थित त्रिभुवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत राजपरिवारका नौ सदस्यको ज्यान गएको थियो। उक्त घटनाले देशभर शोक र स्तब्धताको वातावरण सिर्जना गरेको थियो।

घटनापछि तत्कालीन प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख सम्मिलित छानबिन समितिले अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेको थियो। समितिको निष्कर्षअनुसार तत्कालीन युवराज दीपेन्द्रले गोली चलाएर राजपरिवारका सदस्यहरूको हत्या गरेका र त्यसपछि आफूलाई पनि गोली हानेको उल्लेख गरिएको थियो। तर प्रतिवेदनले घटनाका सबै रहस्य उजागर गर्न नसकेको भन्दै विभिन्न पक्षबाट असन्तुष्टि व्यक्त हुँदै आएको छ।

राजा वीरेन्द्रको निधनपछि उनका भाइ ज्ञानेन्द्र शाह नेपालको राजा बनेका थिए। तर दरबार हत्याकाण्डपछि कमजोर बन्दै गएको राजसंस्था सात वर्षपछि समाप्त भयो। वि।सं। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

दरबार हत्याकाण्ड भएको पच्चिस वर्ष बितिसक्दा पनि घटनाका विभिन्न पक्षबारे सार्वजनिक चासो कायम छ। यस अवधिमा देशमा धेरै सरकार परिवर्तन भए पनि नारायणहिटी दरबार हत्याकाण्ड अझै नेपाली समाजमा रहस्यमय र बहसको विषय बनेको छ।