
मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–१० मा पर्ने बिमिरे भञ्ज्याङ क्षेत्रमा लगातार खसिरहेको पहिरोका कारण यात्रु र स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको छ। सामान्य वर्षा हुनासाथ माथिबाट पहिरो खस्ने समस्याले गर्दा यो सडक खण्ड अत्यन्त जोखिमपूर्ण बनेको हो।
सडकमा पहिरो थुप्रिँदा करापुटार, भोर्लेटार तथा पर्यटकीय नगरी पोखरा लगायतका गन्तव्यतर्फ आवतजावत गर्ने यातायातका साधन र यात्रुहरू घन्टौंसम्म बाटोमै रोकिनुपर्ने बाध्यता रहेको छ। वर्षायाम सुरु भएसँगै समस्या झन् बढ्दै गएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार बिमिरे भञ्ज्याङ क्षेत्रको भूगोल कमजोर भएका कारण हल्का पानी पर्ने बित्तिकै लेदोसहितको पहिरो गुड्ने गरेको छ। जसका कारण दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण मर्कामा परेका छन्। जोखिम मोलेरै यात्रा गर्नुपर्दा दुर्घटनाको भय समेत बढेको यात्रुहरूको गुनासो छ।
सडक माथिबाट निरन्तर ढुंगा र माटो झर्ने भएकाले तत्काल पहिरो पन्छाउन समेत कठिन हुने गरेको स्थानीय बताउँछन्। पहिरो हटाउन डोजर प्रयोग गरिए पनि निरन्तर पानी परिरहेकाले पुनः सडक अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ।
स्थानीयवासीले पहिरो नियन्त्रणसँगै दीर्घकालीन समाधानका लागि वैकल्पिक सडक निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। वर्षेनी दोहोरिने समस्याका कारण यस क्षेत्रमा स्थायी समाधान आवश्यक रहेको उनीहरूको भनाइ छ।
मध्यपहाडी लोकमार्ग देशकै महत्वपूर्ण सडक सञ्जालमध्ये एक भएकाले यस क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न स्थानीयले सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।










