बेसीसहर नगरपालिका भित्रका ४ वटा विद्यालयका विद्यार्थी एसईई मा शतप्रतिशत उत्तिर्ण

-


     सृजना बराल    
     वैशाख २९ गते २०८३ मा प्रकाशित


माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा लमजुङको बेसीशहर नगरपालिकाभित्रका विद्यालयहरूले राष्ट्रिय औसतभन्दा राम्रो नतिजा हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभर कुल ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने बेसीशहरका नगरपालिकाभित्रका विद्यालयहरूको समग्र उत्तीर्ण प्रतिशत करिब ६८ दशमलव ०२ रहेको देखिएको छ ।

बेसीशहरका २ वटा विद्यालयका ५ जना विद्यार्थीहरुले सर्वोकृष्ट अकं ४ जिपिए ल्याउन सफल भएका छन् । जसमा युनिर्भसल एकेडमीका निश्मा पौडेल र रोजिना गुरुङ रहेका छन् भने अर्थली प्याराडाइज बोर्डिङ स्कुलका प्रथम श्रेष्ठ, समिर पौडेल र संगम सापकोटा रहेका छन् ।

नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको तथ्यांक अनुसार कुल ६१६ जना विद्यार्थीमध्ये ४१९ जना उत्तीर्ण भएका छन् भने १९७ जनाले ननग्रेड प्राप्त गरेका छन् ।

संस्थागत विद्यालयतर्फ भु पु सैनिक आवासीय माध्यमिक विद्यालय, युनिभर्सल एकेडेमी र न्यू एरा इङ्ग्लिस बोर्डिङ स्कुलले शतप्रतिशत नतिजा ल्याएका छन् । भु पु सैनिक आवासीयमा ४९ जना, युनिभर्सल एकेडेमीमा ७६ जना तथा न्यू एरा इङ्ग्लिस बोर्डिङमा सहभागी ११ जना सबै विद्यार्थी उत्तीर्ण भएका हुन् ।

अर्थली प्याराडाइज बोर्डिङ स्कुलले ८९ दशमलव ०६ प्रतिशत, विद्याविकास आवासीय माविले ८३ दशमलव ३३ प्रतिशत, ल्यान्ड स्टार इङ्ग्लिस स्कुलले ८२ दशमलव ७६ प्रतिशत तथा मनकामना इङ्ग्लिस बोर्डिङले ७२ दशमलव ७३ प्रतिशत नतिजा हासिल गरेका छन् । बुद्ध मेमोरियल इङ्ग्लिस स्कुलको नतिजा ७० दशमलव ९७ प्रतिशत रहेको छ ।

सामुदायिक विद्यालयतर्फ अन्नपूर्ण माध्यमिक विद्यालय नाल्माले शतप्रतिशत नतिजा ल्याएको छ । विद्यालयबाट सहभागी ८ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । गंगा मिलन मावि मकैडाँडाले ८६ दशमलव ६७ प्रतिशत, लोकराज आदर्श माध्यमिक विद्यालयले ८१ दशमलव २५ प्रतिशत, कालिका मिलन मावि चिसापानीले ८० प्रतिशत तथा श्री बालकल्याण माध्यमिक विद्यालयले ७६ दशमलव ६७ प्रतिशत नतिजा ल्याएका छन् ।

त्यस्तै श्री लमजुङ माध्यमिक विद्यालयको नतिजा ७३ दशमलव ६८ प्रतिशत, जनकल्याण मावि उदिपुरको ७० दशमलव ९७ प्रतिशत, यशो ब्रह्म माध्यमिक विद्यालयको ७० प्रतिशत तथा बालविकास माध्यमिक विद्यालयको ६५ प्रतिशत रहेको छ ।

५० प्रतिशत भन्दा कम नतिजा ल्याउने विद्यालयमा जनविकास मावि बेसीशहर (प्राविधिक) ३३ दशमलव ३३ प्रतिशत, जनविकास मावि बेसीशहर ४८.५७ प्रतिशत, जनकल्याण मावि चिती ३८ दशमलव ४६ प्रतिशत तथा जनजागृति माध्यमिक विद्यालय ३७ दशमलव ५० प्रतिशत, जनविकास मावि चण्डीडाडाको ४१.१८ प्रतिशत, रहेका छन् । जन विकास खुलाबाट सहभागी २ जना विद्यार्थीमध्ये कुनै पनि उत्तीर्ण हुन सकेनन् ।

यस वर्षको नतिजाले बेसीशहर नगरपालिकाभित्र निजी विद्यालयको प्रदर्शन तुलनात्मक रूपमा उत्कृष्ट देखिए पनि केही सामुदायिक विद्यालयले पनि उल्लेखनीय नतिजा ल्याएका छन् । शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि नगरपालिकाले प्रविधिमैत्री शिक्षा, शैक्षिक सामग्री वितरण तथा कार्यसम्पादन करारलगायत कार्यक्रम अघि बढाइरहेको जनाएको छ ।