बेसीशहरको मर्स्याङ्दी नदीको पुलको एकातर्फ पहिरो जाँदा सवारी साधन सञ्चालनमा रोक

-


     नयाँ दीप    
     वैशाख २७ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीसहर नगरपालिका–१० बाँझाखेत जोड्ने मर्स्याङ्दी नदीमाथिको पक्की पुलको एकातर्फको भागमा पहिरो जाँदा यातायातमा रोक लगाइएको छ । वर्षाले पुलको छेउभागमा ठूलो पहिरो खसेपछि जोखिम बढेकाले सो क्षेत्रमा ठूला सवारीसाधनको आवतजावत तत्कालका लागि रोकिएको छ ।

पहिरोका कारण बेसीसहर नगरपालिका–१० अन्तर्गत पर्ने गाउँ भाचोक, खासुर, चौर, सालडाँडा, हिले लगायतका गाउँतर्फ सञ्चालन हुने सवारी साधन चल्न सकेको छैनन् । यातायातमा रोक लगाइएकाले स्थानीयवासीलाई दैनिक आवतजावत तथा खाद्यान्न, निर्माण सामग्री ढुवानीमा समेत समस्या भएको बताइएको छ ।

पुलको एकातर्फको जमिन भासिन पक्की पुलमा समेत जोखिम बढेको छ । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गसमेत सहज नभएकाले ग्रामीण भेगका यात्रु बढी मारमा परेका छन्। वर्षासँगै मर्स्याङ्दी नदीको बहावसमेत बढेकाले पुल आसपासको क्षेत्र उच्च जोखिममा रहेको स्थानीय गणेश घिमिरेले बताएका छन् ।