
लमजुङको सुन्दरबजार – ६ मा रहेको एच.डि.सि.एस. नमुना सामुदायिक अस्पतालले नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ।
अस्पतालले मुटु, मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), मिर्गौला, कोलेस्ट्रोल, आँखा, मानसिक स्वास्थ्य तथा युरिनसम्बन्धी विभिन्न रोगहरूको निःशुल्क परीक्षण सुरु गरेको जनाएको छ। निशुल्क परीक्षणका क्रममा समस्या देखिएका विरामीहरुलाई अस्पतालमा दिइने सेवा समेत निशुल्क गरिने निर्देशक श्रेष्ठले बताउनुभयो ।
अस्पतालका अनुसार प्रत्येक महिनाको ५ गते उक्त परीक्षण कार्यक्रम सञ्चालन हुने गरेको छ। फागुन महिनाबाट सुरु गरिएको कार्यक्रममा पहिलो महिनामा १ सय ५ जना, चैतमा २ सय जना र वैशाखमा ८६ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
अस्पतालका निर्देशक हेमन्त श्रेष्ठका अनुसार समयमै रोग पहिचान भए उपचार सहज हुने र रोग नभए पनि व्यक्ति ढुक्क हुने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। “नसर्ने रोगहरू पछिल्लो समय बढ्दो अवस्थामा छन्, त्यसैले समयमै परीक्षण आवश्यक छ,” श्रेष्ठ भन्नुभयो ।
स्टेप अप एन्ड स्केल अप परियोजनामार्फत सञ्चालन गरिएको उक्त कार्यक्रम असारसम्म जारी रहने बताइएको छ। आवश्यकताअनुसार कार्यक्रमको अवधि थप गरिने अस्पतालले जनाएको छ।
कार्यक्रममा विशेषगरी ४० वर्षभन्दा माथिका नागरिकलाई सहभागी गराइँदै आएको छ। हालसम्म ४० देखि ९४ वर्षसम्मका ज्येष्ठ नागरिकहरूले परीक्षण गराइसकेको अस्पतालले जनाएको छ।
यससँगै अस्पतालले समुदाय र विद्यालयस्तरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। साथै “ज्येष्ठ नागरिकसँग मनका कुरा” कार्यक्रमसमेत अगाडि बढाइएको अस्पतालका मनोपरामर्शकर्ता शोभा ठकुरीले बताउनुभयो ।









