
प्रदेश अस्पताल बेसीशहर लमजुङमा ६ महिनाको अवधिमा ६० जना भन्दा धेरैले रेविज भ्याक्सिन लगाएका छन् । कुकुर तथा अन्य जनावरको टोकाइका घटनापछि जिल्लावासीहरू रेविज विरुद्धको खोप लगाउन अस्पताल पुग्ने क्रम बढ्दै गएको छ ।
प्रदेश अस्पताल लमजुङ मा पछिल्ला दिनहरूमा दैनिक औसत ४ देखि ५ जना बिरामी रेविज विरुद्धको खोप लगाउन आउने गरेको अस्पतालका मेसु शिशिर देवकोटाले बताउनुभयो ।
६ महिना अघि गण्डकी प्रदेशमै पहिलो पटक प्रदेश अस्पताल लमजुङले निशुुल्क रेविज भ्याक्सिन र योसगैं लगाइने इमिन्यू ग्लोबुलिन खोप सुरु गरेको अस्पतालले जनाएको छ । यस अघि रेविज भ्याक्सिन जिल्ला मै लगाउने गरिए पनि इमिन्यू ग्लोबुलिन खोप लगाउन टेकु अस्पताल जानुपर्ने बाध्यता रहेको थियो ।
कुकुरले टोकेर रगत निकालेमा रेविजको साथमा अनिवार्य इमिन्यो ग्लोबुलिन खोप लगाउनुपर्ने मेसु देवकोटाले बताउनुभयो ।
कुकुर, बिरालो, चमेराले टोके मात्र रेविज भ्याक्सिन लगाउनुपर्ने तर मुसाले टोेकेमा लगाउन नपर्ने मेसु देवकोटाको भनाई छ । कतिपय व्यक्तिहरु चेतनाको अभावले मुसाले टोकेको टिटी खोप लगाउनुपर्ने बेला पनि रेविज भ्याक्सिन नै लगाइदिनु जवरजस्ती गर्ने गरेको उहाँले बताउनुभयो ।
कुकुर वा शंकास्पद जनावरले टोकेको अवस्थामा तुरुन्तै घाउलाई १५ मिनेट जति साबुन र बगेको पानीले राम्ररी धोएर अस्पताल पुग्नुपर्छ । रेविजबाट बच्न चिकित्सकको सल्लाह अनुसार ३ चरणमा खोप लगाउनुपर्छ। रेविज एक जनावरबाट मानिसमा सर्ने घातक भाइरसजन्य रोग भएकाले समयमै उपचार नगरे ज्यानै जाने जोखिम हुने चिकित्सकहरूले बताएका छन् ।
रेविज प्रायः संक्रमित कुकुर, बिरालो, बाँदर वा अन्य जनावरले टोकेको वा नङ्ग्राले कोट्याउँदा सर्छ। संक्रमित जनावरको र्याल घाउमा पर्दा भाइरस शरीरभित्र प्रवेश गर्ने भएकाले यस्तो अवस्थामा तत्काल सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
रेविज लागेपछि सुरुमा ज्वरो आउने, टाउको दुख्ने, शरीर कमजोर हुने, टोकेको स्थानमा दुखाइ वा झमझम हुने जस्ता लक्षण देखिन सक्छन्। रोग बढ्दै जाँदा बिरामीमा बेचैनी, निद्रा नलाग्ने, पानी देख्दा डर लाग्ने (हाइड्रोफोबिया), झट्का आउने र स्नायु प्रणालीमा गम्भीर असर पर्ने जस्ता समस्या देखिन सक्छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार रेविजको लक्षण देखिन थालेपछि उपचार सम्भावना अत्यन्त न्यून हुन्छ र रोग प्रायः घातक हुन्छ। त्यसैले कुकुर वा अन्य जनावरले टोकेको अवस्थामा ढिलाइ नगरी तुरुन्तै स्वास्थ्य संस्थामा पुगेर खोप लगाउनु अत्यन्त आवश्यक रहेको चिकित्सकहरूको सुझाव छ।
यससँगै छाडा कुकुरको व्यवस्थापन, घरपालुवा जनावरलाई नियमित खोप लगाउने तथा समुदायमा जनचेतना बढाउने कामले रेविज नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।










