
लमजुङको मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाईे सम्मान गरेको छ । विहिबार गाउँपालिकामा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भण्डारी साम्बालाई सम्मान गरिएको हो ।
मस्र्याङदी गाउँपालिकाकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारीले फुटवल खेलको माध्यमबाट गाउँ तथा जिल्लालाई देश विदेशमा चिनाउन सफल भएको भन्दै गाँउपालिकाले सम्मान गरेको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्। सानै देखि आफू भन्दा ठूला दाईहरुसगँ फुटवल खेल्न मन पराउने भण्डारीले सन् २०१४ देखि सशस्त्र प्रहरी बल क्लबबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेकी साम्बाले हाल फ्रान्सेली लिग एन क्लब ’अभान्ट ग्वेङगाम्प’ बाट व्यवसायिक फुटबल खेलिरहेकी छिन्।

उनले ५३ अन्तर्राष्ट्रिय खेलमा ५७ गोल गर्दै नेपाली महिला फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान कायम गरेकी छिन् । फुटवल खेल्नको लागि आफूले धेरै मेहनत गरेको भन्दै आफूले आफ्नो फुटवलको सुरुवात मोजाको बल खेलेर गरेको कार्यक्रममा उनले बताएकी छन् ।

विद्यालय तह देखि नै गाउँ तथा जिल्ला स्तरमा हुने फुटवल खेलमा सहभागि हुन अग्रसर हुने साम्बा निकै मेहनती र इमान्तदार विद्यार्थी भएको उनी पढेको विद्यालय अमर माविका प्रधानाध्यापक तिर्थ बस्नेतले बताए ।
बच्चा देखि नै गाउँको क्लवबाट खेलकुदमा सहभागि हुने साम्बाले आफ्नो लक्ष्य प्रतिको उच्च चाहना लगनगशिल र मेहनती भएकोले उनले सफलता प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तथा रवि थापाले बताए ।

कार्यक्रममा साम्बा पढेको विद्यालय अमर माविले पनि सम्मान गरेको थियो । यस अघि मस्याङ्दी गाउँपालिकाले अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ’साम्बा चोक’ नामाकरण गरेको छ ।









