१७ वर्षको अवधीमा ८४ लाख भन्दा धेरै नेपाली विदेशिय

-


     भरत बाबु घिमिरे     
     असार २ गते २०८२ मा प्रकाशित


१७ वर्षको अवधीमा ८४ लाख ६४ हजार ७ सय सतासी जना नेपालीले श्रम स्वीकृती लिएर बैदेशिक रोजगारीमा गएको तत्थ्याङ सार्वजनिक भएको छ । सोमबार लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित एक कार्यक्रममा यस्तो तत्थ्याङ्क सार्वजनिक गरिएको हो ।

बेसीशहर नगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी अर्थात आप्रवास (सामी) कार्यक्रम अन्र्तगत सञ्चारकर्मीको भूमिका विषयक अन्नतरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

“स्वदेश मै रोजगारी गरौं बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्रै जाऔं” भन्ने सन्देशका साथ आयोजना गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रममा गण्डकी प्रदेशका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालयमा कार्यरत कार्यक्रम अधिकृत शिव रेग्मीले कार्यपत्र प्र्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा रेग्मीले आ.व २०६४\६५ देखि मात्रै वैदेशिक रोजगारीको औपचारिक रेकर्ड राख्न थालिएको जानकारी दिनुभयो । उहाँले त्यस समयदेखि वर्तमानसम्मको तथ्यांकको संक्षिप्त जानकारी दिँदै सुरक्षित आप्रवासन कार्यक्रमको संरचना, कार्यविधि र उद्देश्यबारेमा आफ्नो जानकारी गराउनुभएको थियो ।

आ.व २०६४\६५ देखि हालसम्मको अवधीमा ८४ लाख ६४ हजार ७ सय सतासी जना मध्य गण्डकी प्रदेशबाट मात्रै ९४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । आ.व २०८०\८१ मा मात्रै वैदेशिक रोजगारीबाट देशमा १४ खर्ब ४५ अर्ब ३२ करोड दुई लाख रूपैयाँभन्दा बढी रकम भित्रिएको थियो ।

यसले वैदेशिक रोजगारीको आर्थिक महत्व देखाउँछ, तर त्यससँगै त्यसक्रममा आउने सामाजिक, कानुनी र पारिवारिक चुनौतीहरूको व्यवस्थापन हुन अत्यावश्यक रहेको रेग्मीले बताउनु भएको थियो ।

सामी कार्यक्रम चार चरणमा सञ्चालनमा आएको छ । पहिलो चरण २०११ देखि २०१३ सम्म दुई जिल्लामा प्रारम्भ भएको थिया भने दोस्रो चरणमा १८, तेस्रो चरणमा ३८ जिल्ला र अहिले चौथो चरण अन्तर्गत ७७ जिल्ला र ७५३ स्थानीय तहमा सञ्चालन गरिदैछ ।

गण्डकी प्रदेशमा अहिले कार्यक्रम ११ वटै जिल्लाका ४८ स्थानीय तहमा सञ्चालन भइरहेको छ । लमजुङ जिल्लामा चालु आ.वमा बेसीशहर, सुन्दरबजार र दोर्दीमा सामी कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराइएको छ भने आगामी आ.वमा राइनास, मध्यनेपाल, मस्र्याङ्दी, दुधपोखरी र क्व्होलासोथरमा गरी आठ वटै पालिकामा कार्यक्रमको कार्यान्वयन गरिने भएको कार्यक्रम अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत व्यक्तिगत सूचना तथा परामर्श सेवा, निःशुल्क कानुनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता तालिम, सीप विकास तालिम र रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण जस्ता कार्यहरू सञ्चालनमा छन् । अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि आवश्यक जानकारीको पहुँच पु¥याउने, सामाजिक सञ्जालमा नकारात्मक भन्दा सकारात्मक र प्रेरणादायी सामग्री प्रकाशनमा जोड दिने र पीडितका आवाजलाई उजागर गर्ने जस्ता विषयमा जोड दिन अनुरोध गरिएको थियो ।

कार्यक्रममा सूचना अभाव, प्रमाण अभिलेखनको कमजोरी, नयाँ स्वरूपका ठगी, तेस्रो पक्षको संलग्नता, कानुनी समस्याहरू र सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण प्रचारजस्ता चुनौतीहरूबारे पनि छलफल भएको थियो । वैदेशिक रोजगारीका क्षेत्रमा जनचेतना फैलाउन र आप्रवासी श्रमिकहरूलाई सुरक्षासहितको रोजगारीतर्फ उन्मुख गराउन सञ्चारकर्मीहरूको जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रमको निष्कर्ष रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले कार्यक्रमबाट पीडितहरूको न्यायमा सहज पहुँच र सहजीकरणमा सहज हुने अनुभूति भएको भएको बताउनुभयो । उहाँले सबैले मिलेर काम गर्दा पीडितले छिटो न्याय पाउने सक्ने हुन्छ, त्यसैले मिलेर काम गर्नेतर्फ सबै लागौं भन्नुभएको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारको वर्तमान अवस्था, यससँग जोडिएका कानुनी, सामाजिक र मनोवैज्ञानिक पक्षहरूको समग्र समीक्षा गरिएको सहभागी सञ्चारकर्मीहरूले जानकारी दिएका छन् । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको संयोजन, बेसीशहर नगपालिकाको सहकार्य र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सो कार्यक्रम सञ्चालन भएको हो ।