सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय, अन्त्यष्टीको दिन सार्वजनिक बिदा

-


     नयाँ दीप    
     भाद्र २६ गते २०८० मा प्रकाशित


काठमाडौं, ह्दयघातका कारण मगंलबार विहान निधन भएका सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आज बसेको आकस्मिक बैठकले उनलाई राजकीय सम्मान दिने र उनको अन्त्यष्टीको दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको आज बिहान निधन भएपछि मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको थियो । सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदाको निर्णय भएको पुष्टी गरिन् । सरकारले नेम्वाङको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।

नेम्वाङका छोराहरु हाल विदेश छन् । उनीहरु नेपाल फर्किए पछिमात्र नेम्वाङको अन्त्यष्टी गरिनेछ । उनको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सरकारले सार्वजनिक बिदा हुनेछ ।
प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति बिहीबार शोक व्यक्त गर्ने भएको छ ।

प्रतिनिधिसभाको बुधबारका लागि तय बैठक स्थगित गरी बिहीबार नेम्वाङप्रति शोक व्यक्त गर्न बोलाइएको छ ।
सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन् ।

’संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएको,’ सूचनामा भनिएको छ, ’शोक प्रस्ताव प्रयोजनको लागि सभाको बैठक भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ ।’