
लमजुङका बेसीशहरस्थित बेसीशहर युथ सोसाइटी सेराले आयोजना गर्न लागेको “कन्सर्ट फर टिफिन” कार्यक्रमको तयारी तीव्र बनाइएको छ। लक्ष्मी बाल मन्दिर, बेसीशहर–८ मा अध्ययनरत बालबालिकाका लागि टिफिन व्यवस्थापनमा सहयोग पुराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
आगामी मङ्सिर १९ गते बेसीशहरको फुलबारी मञ्चमा आयोजना हुने कन्सर्टका लागि हालसम्म १ सय ४३ जनाबाट ९ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको छ। आयोजकका अध्यक्ष रविन श्रेष्ठका अनुसार कार्यक्रममार्फत कुल २३ लाख ७५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। संकलित रकममध्ये ८ लाख १० हजार रुपैयाँ लक्ष्मी बाल मन्दिरका बालबालिकाको टिफिन व्यवस्थापनमा खर्च गरिनेछ।
त्यसैगरी, बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि सेवा मोडल अस्पतालसँग हेल्थ पार्टनरको रुपमा सहकार्य गरिएको छ भने डा. तिलक घिमिरे स्वास्थ्य साझेदारका रूपमा जोडिनुभएको छ। साथै, सौन्दर्य व्यवसायी संघ लमजुङलाई हाइजिन पार्टनरको रुपमा राखिएकोे र संघले बालबालिकाको सरसफाइ, कपाल काट्ने लगायतका गतिविधिमा सहयोग गर्नेछ।
अध्यक्ष श्रेष्ठका अनुसार सरकारले उपलब्ध गराउँदै आएको दैनिक २० रुपैयाँ खाजा खर्च पर्याप्त नभएको सन्देश दिन तथा बालबालिकाको पोषणप्रति समाज र राज्यको ध्यानाकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको हो। “विद्यालय भवन, पोशाक, कापीकलममा मात्रै ध्यान केन्द्रित हुने अवस्था छ, तर बालबालिकाले खाने खाना कत्तिको पोषिलो छ भन्ने पक्ष ओझेलमा परेको छ,” उहाँले भन्नुभयो।
कन्सर्टमा नेपालका चर्चित ब्याण्ड द रकेट्स र पोखराको द ड्रीमर्स को लाइभ प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन आयोजकले तीव्र तयारी गरिरहेको छ।
कार्यक्रमको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी रहेको छ भने सह–प्रायोजकका रूपमा एक्स्ट्रिन इनर्जी ड्रिङ्क्स र रिफ्रेस पार्टनरमा सिङ्गापुर ब्रिवरेज जोडिएको आयोजकले जनाएको छ।
यसअघि पनि युवा क्लबले “कन्सर्ट फर ब्लड” कार्यक्रम आयोजना गरी ब्लड एप्स सञ्चालनमा ल्याएको थियो। उक्त कार्यक्रमबाट मार्फत बिरामीहरूलाई रगत उपलब्ध गराउन सहज भएको बताइएको छ।









